हरेक वर्षको एक दिन फूल बोकेर,
मुटुलाई बजारमा देखाएर,
सामाजिक सञ्जालका भित्ताहरू कोतर्दै,
ठूला अक्षरमा विज्ञापन र प्रचारबाजीको होडबाजी गर्दै,
एकअर्काको देखासिकी गरेर
नगरौँ, प्रिय, त्यस्तो प्रेम।
स्कुलमा विद्यार्थीलाई दिइने
अनिवार्य गृहकार्य हैन प्रेम।
आर्थिक वर्षमा सक्नैपर्ने
हिसाब–मिलान हैन प्रेम।
योजना आयोगले
तोकेको मितिमा सुरु गर्नैपर्ने
आयोजना हैन प्रेम।
परीक्षार्थीले समयावधिमै
भर्नुपर्ने उत्तरपुस्तिका हैन प्रेम।
समयलाई सीमामा बन्धक बनाएर
नगरौँ, प्रिय, त्यस्तो प्रेम।
आँखा चिम्लिएर हेर्दा
हँसिलो मुहारमा जसको आकृति
देखिन्छ, त्यही हो प्रेम।
जीवनका रसराग रित्तिए पनि
उसको सम्झनाले मन फुरुङ्ग बनी
रचिन्छ भरपूर गीत अनि गजल—
त्यही हो प्रेम।
प्रभात किरणसँगै उदाउँछ प्रेम,
दिवा–स्वप्नमा झझल्को बनी रमाउँछ प्रेम,
अनि निष्ठुर राति सपना भई ब्यूँझन्छ प्रेम।
उनको यादमा ऐठन बनी घरीघरी,
अभावको खड्कुँलोमा निसास्सिँदा पनि,
खुसी फुत्किएको बेला
बाँडिचुँडी खाऔँ भन्छ प्रेम।
सास दिनेलाई पीडा हुन्छ कि भनी
डराउँछ प्रेम,
खुसी दिनेलाई बिझ्छ कि भनी
सुर्ताउँछ प्रेम।
एकछिन आवाज नसुन्दा
अत्यासले छट्पटाउँछ मन,
जसरी चराका एकहुल बथान
चारो नपाएर कराइरहन्छन्।
उनको एउटै मधुर वचनले
हृदय चञ्चल बनाउने,
उध्रिएको गोजीबाट आशा चुहिए पनि
भरोसाको जग उठाउन प्रेरित गरिरहन्छ—
प्रेम।
कतै टाढा होस् कोही,
तर
हरपल साथमै छ भन्ने
आभास दिलाउँछ प्रेम।
बाँच्नु त छ नै जसरी पनि,
तर
लागोस् धड्कन उसकै मुटुमा छ—
त्यही विश्वास हो प्रेम।
विवशताका छालहरू छरपस्ट छरिएर
कयौँ बाधा–व्यवधान आए पनि,
काँडैकाँडा बीच निस्फिक्री फूलिरहने
गुलाफ हो प्रेम।
जलिसकेका अमूर्त मनहरूमा
पवनको शीतल स्पर्शझैँ
खुसीका अवशेषहरूलाई
जागृत तुल्याउँछ प्रेम।
आवाजहरूको कोलाहलमा
मौन स्वरबाट व्यक्त गरिने
भावना हो प्रेम।
भित्ताका कानहरूलाई समेत
थाहै नदिई साउतीमा व्यक्त गरिने
बातहरू हुन् प्रेम।
भोकाएको पेटमा
तस्वीरमा पठाइएको परिकारलाई
स्वाद लिई–लिई तृप्त भएको
आभास दिलाउँछ प्रेम।
कसैको याद सँगालेर
एकान्तमा मुस्कुराउन मन लागोस्—
त्यही पागलपनभित्र हुन्छ प्रेम।
भौतिक साथ होस् या नहोस् जीवनमा,
उसकै कारण सार्थक छ जीवन भन्ने लागोस्—
त्यही समर्पणमा हुन्छ प्रेम।
यस्तो पवित्र प्रेमलाई
यो र त्यो दिवसको नाम दिएर,
उपहारका डब्बाहरूमा कैद गरी
क्षणिक खुसीको प्रदर्शन गर्दै
नगरौँ, प्रिय, त्यस्तो प्रेम।
मुटुको आयतन सानो हुनेहरूले हो
प्रेमलाई विज्ञापन र प्रचारबाजीमा रमाउने।
म त भन्छु—
प्रेम फुल्नलाई विशाल मुटु चाहिन्छ,
प्रेम फक्रिन विशाल आत्मा चाहिन्छ।
त्यसैले, प्रिय!
प्रेमात्मालाई अङ्गमा उतारी,
विछ्यौनामा वासनाको विस्कुन लगाएर
सर्वाङ्ग चुम्दै शरीरलाई दिइने प्रेमको के अर्थ,
जहाँ मनलाई हैन, शरीरलाई
प्रेम गरिएको हुन्छ?
प्रेम अन्तःकरणको भाव हो,
जुन युगौँ–युगसम्म अजर–अमर
रहीरहनेछ।
जमुना क्षेत्री
इटहरी




















