काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले बाढीबाट प्रभावित नुवाकोटको विदुर नगरपालिका तथा आसपासका क्षेत्रको स्थलगत निरीक्षण गरेका छन्।

बिहीबार बिहान पूर्वाधार विकासमन्त्री सुनिल लम्सालसहित सडकमार्ग हुँदै नुवाकोट पुगेका प्रधानमन्त्री शाहले बाढीका कारण प्रभावित बस्ती, सडक तथा विभिन्न भौतिक संरचनामा पुगेको क्षतिको प्रत्यक्ष अवलोकन गरेका हुन्।

बुधबार रसुवाको भोटेकोशी हुँदै आएको बाढीले नदी आसपासका क्षेत्रमा ठूलो क्षति पुर्‍याएपछि उद्धार, राहत तथा पुनर्स्थापनाका कामलाई प्रभावकारी बनाउन सरकारले सक्रियता बढाएको छ। सोही क्रममा प्रभावित क्षेत्रको वास्तविक अवस्था बुझ्न प्रधानमन्त्री शाह नुवाकोट पुगेका हुन्।

स्थलगत निरीक्षणका क्रममा प्रधानमन्त्री शाह र मन्त्री लम्सालसहितको टोलीले स्थानीय प्रशासन, सुरक्षा निकाय तथा जनप्रतिनिधिसँग बाढीबाट भएको क्षति, उद्धार तथा राहतको अवस्था र तत्काल गर्नुपर्ने कामबारे छलफल गरेको थियो।

प्रधानमन्त्री कार्यालयका अनुसार प्रधानमन्त्री शाहले विस्थापित परिवारलाई तत्काल राहत उपलब्ध गराउन, अवरुद्ध सडक तथा अन्य पूर्वाधार शीघ्र सञ्चालनमा ल्याउन र दीर्घकालीन पुनर्स्थापनाका कामलाई तीव्रता दिन सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।