विराटनगर / विराटनगरमा कानमा समस्या हुने विरामीहरुको संख्या बढेको छ । विराटनगर महानगरपालिका भित्र मात्रै कानका समस्याका बिरामीको संख्या २५ हजार ८२३ रहेको छ । यो चिकित्सकीय परामर्शमा पुगेका बिरामीहरुको संख्या हो । तर, यस बाहेक समस्या पालेर स्वास्थ्य जाँचमा नजाने बिरामीको संख्या पनि उतिकै रहेको छ ।
विराटनगरमा १२ हजार ८६७ पुरुष र १२ हजार ९५६ महिलाको कानमा समस्या रहेको तथ्यांक छ । एक्युट सपुराटिभ ओटाइटिस मिडिया (कान पाक्ने) बाट २ हजार १६३ पुरुष र २ हजार ५३४ महिला प्रभावित छन् ।
क्रोनिक सुपराटिभ ओटाइटिस मिडिया (कानको जालीमा प्वाल पर्ने÷हड्डी खाने) बाट ३ हजार ९३१ पुरुष र ३ हजार ९१६ महिलाहरू पीडित छन्। कानमा फरेन बडी(बाहिरी वस्तु)बाट हुने समस्यामा ९७९ पुरुष र ७८० महिला छन् । वाक्स (कानेगुजी)को समस्याबाट ३ हजार ७७३ पुरुष र ३,५९७ महिलामा देखिएको छ।
ओटाइटिस एक्सटर्नल (बाहिरी कानको समस्या) मा १ हजार ४९२ पुरुष र १ हजार ४९३ महिला पीडित छन् भने फुरुनकुलोसिस अफ इयर (कानको रौँमा) हुने इन्फेक्सन बाट ६८१ पुरुष र ५४७ महिला प्रभावित छन्। विराटनगरको स्वास्थ्य सेवा राम्रो भएकाले यहाँ अन्य स्थानबाट पनि उपचारका लागि बिरामीहरू आउने गरेका छन्। जसका कारण बिराटनगरको तथ्याङ्कलाई समग्र रूपमा लिने गरिएको स्वास्थ्य शाखाका अधिकृत दीपक भट्टराईले बताएका छन्।
नाक, कान, घाँटी रोग विशेषज्ञ (ईएनटी) डा. रौनक दाहालका अनुसार कानमा पटकपटक संक्रमण हुँदा प्वाल पर्ने जोखिम हुन्छ । संक्रमण हुँदा पर्दापछि तरल पदार्थ एकत्रित हुन थाल्छ, त्यसैको दबाबले पर्दामा प्वाल पर्छ । साथै चोटपटकको कारण ट्रमा भएर पनि कानको जाली प्वाल पर्छ । यसैगरी सानैदेखि संक्रमण भएपछि समयमै उपचार नगराउँदा पनि समस्या हुनसक्छ । यसैगरी धेरै जसो रुघाँखोकी लाग्दा पनि कानको जालीमा प्वाल पर्नसक्ने संभावना हुन्छ ।
डाक्टर दाहालले दुई लाख जनसंख्या भएको विराटनगरमा २५ हजार बढीमा कानको समस्या देखिनु चुनौतीको विषय भएको बताएका छन् । उनले सुविधा सम्पन्न शहरी क्षेत्रमा समेत कानको समस्या बढ्दै गएकोले सचेत हुनुपर्ने बताए । कानको समस्या रोकथामका उपायहरुमा पानी पर्न नदिने, सुख्खा राख्ने, तेलको नहाल्ने, धारिलो वस्तुले कान सफा गर्न नहुने बताएका छन् । रुँघाखोकीबाट जोगिने, ठूलो आवाज भएको स्थानमा धेरै समय नबस्ने र इयर फोन÷हेडफोनको बढी प्रयोग नगर्न आग्रह गरेका छन्।




















