चोरीको आरोप लगाएको रिसले ब्याट्री पसलका सञ्चालक लालजीप्रसाद गुप्ताको हत्यागरि बोरामा शव खोलामा फालेको खुलासा
- कार्तिक १२, २०८३
- ११२ पटक पढिएको
विराटनगर । विराटनगर महानगरपालिका–६ महावीर रोडमा ब्याट्री पसल सञ्चालन गर्दै आएका लालजीप्रसाद गुप्ताको हत्या गरेको आरोपमा पक्राउ परेका अभियुक्तले चोरीको आरोप लगाएको रिसमा हत्या गरेको बयान दिएको छ।
प्रहरीले गुप्ताको हत्या आरोपमा विराटनगर–६ का ३७ वर्षीय अब्जर मियालाई मंगलबार साँझ पक्राउ गरेको सुनसरी प्रहरी प्रमुख एसपी पुष्पराज मल्लले जानकारी दिएका छन् । प्रहरीको भनाइ अनुसार गुप्ताले आफ्नो पसलको सामान चोरी गरेको आरोप मियामाथि लगाउँदै आएका थिए। सोही विषयलाई लिएर मियाले गुप्ताको हत्या गर्ने योजना बनाएको खुलेको प्रहरीले जनाएको छ।
अनुसन्धानमा संलग्न प्रहरीका अनुसार शुक्रबार राति मियाले गुप्तालाई आफ्नो घरमा खाना खान बोलाएका थिए। सोही क्रममा दुवैले मदिरा सेवन गरेका थिए। मदिराको नशामा रहेका बेला मियाले सुरुमा बियरको बोतलले गुप्ताको टाउकोमा प्रहार गरेका थिए। त्यसपछि रडले प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी अधिकारीले बताएका छन्।
भारतको उत्तर प्रदेशस्थित वाराणसी (बनारस) घर भएका गुप्ता लामो समयदेखि विराटनगरमा ब्याट्रीको कारोबार गर्दै आएका थिए। उनी विराटनगरमा एक्लै बस्दै आएका थिए।गुप्ताको हत्या गरेपछि शव व्यवस्थापन गर्न मियाले सिटी सफारी प्रयोग गरेको अनुसन्धानबाट खुलेको छ। हत्या गरेपछि शव बोरामा हालेर सुनसरीको बर्जु गाउँपालिका–२ भीमपुरस्थित केसेलिया खोलामा फालेको प्रहरीले जनाएको छ।




















