विराटनगर।मोरङ, भदौ ११ गते । समुदाय–प्रहरी साझेदारी अवधारणाअन्तर्गत समाजमा विद्यमान सामाजिक समस्याको न्यूनीकरण गर्ने उद्देश्यले विराटनगरमा सार्वजनिक यातायातका साधनमा लागूऔषध तथा लैंगिक हिंसाविरुद्ध सचेतनामूलक स्टिकर टाँसिएको छ।

सुनौलो पूर्व नेपाल यातायात सेवा प्रालि र जिल्ला प्रहरी कार्यालय मोरङको समन्वय तथा सहकार्यमा विराटनगर महानगरपालिका–९ स्थित बसपार्कमा लामो तथा छोटो दूरीमा सञ्चालन हुने सार्वजनिक यातायातका साधनमा स्टिकर टाँस्ने कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कटेलको प्रमुख आतिथ्यता तथा जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक कवित कटवाल, नेपाल यातायात व्यवसायी महासंघका केन्द्रीय सदस्य राजन कडेललगायत यातायात व्यवसायीहरूको उपस्थिति रहेको थियो।

सार्वजनिक यातायातमा यात्रा गर्ने नागरिकलाई लागूऔषध दुरुपयोग र लैंगिक हिंसाविरुद्ध सचेत गराउने तथा यस्ता सामाजिक विकृति न्यूनीकरणमा समुदाय, प्रहरी र यातायात क्षेत्रबीच सहकार्य बढाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जनाइएको छ।