काठमाडौं । गृहमन्त्री सुधन गुरुङले विपद्का समयमा खोज, उद्धार तथा राहत कार्यमा नागरिकबाट प्राप्त सहयोग र ऐक्यबद्धताप्रति आभार व्यक्त गरेका छन्।
आवश्यक हेभी उपकरण जुटाउन सहयोग गर्ने सर्वसाधारणलाई धन्यवाद दिँदै गृहमन्त्री गुरुङले थप मिनी एक्सकाभेटर आवश्यक रहेको जानकारी पाएपछि नागरिकले देखाएको तत्परता प्रशंसनीय रहेको बताएका हुन्।
सामाजिक सञ्जालमार्फत उनले नागरिककै सक्रियताका कारण आवश्यक मिनी एक्सकाभेटरको व्यवस्था भइसकेको जानकारी दिएका छन्।
विपद्को कठिन परिस्थितिमा राज्यका सबै पक्ष एकजुट भएर अघि बढे जुनसुकै चुनौतीको पनि सामना गर्न सकिने उल्लेख गर्दै उनले नागरिकको सहयोगले उद्धार तथा राहत कार्यमा थप उत्साह र हौसला मिलेको बताएका छन्।



















