बेलबारी।बेलबारी साहित्य विकास समिति, मोरङले बेलबारी निवासी मुक्तककार राजु परियारको मुक्तकसङ्ग्रह ‘रापका ज्वारभाटा’ सार्वजनिक गरेको छ । शनिबार आयोजित कार्यक्रममा वरिष्ठ साहित्यकार हर्कमान तामाङलगायत अतिथिहरूले कृति सार्वजनिक गरेका हुन् ।
कार्यक्रममा वरिष्ठ साहित्यकार तामाङले मानव समुदायले आदिम कालदेखि नै सिर्जना र श्रमलाई निरन्तरता दिँदै आएको उल्लेख गर्दै ‘रापका ज्वारभाटा’ले राजु परियारलाई राम्रो मुक्तककारका रूपमा स्थापित गर्ने विश्वास व्यक्त गरे । उनले शोषण र विभेदरहित समाज निर्माणका लागि यस्ता सिर्जनात्मक ‘ज्वारभाटा’ आवश्यक रहेको बताए ।
बेलबारी नगरपालिकाका नगर प्रमुख दिलप्रसाद राईले कृतिमा देशको इतिहासदेखि वर्तमानसम्मका विविध विषयलाई पीडा, आक्रोश र ऊर्जाका रूपमा प्रस्तुत गरिएको बताए । उनले युवामा बढ्दै गएको लागूऔषध प्रयोग तथा ग्लोबल वार्मिङजस्ता विषयमा पनि साहित्यकारहरूले थप कलम चलाउनुपर्नेमा जोड दिए ।
विशिष्ट अतिथि ईरानराईले राजु परियार बहुपदीय मात्र नभई बहुमुखी प्रतिभाका सर्जक भएको बताए । उनका अनुसार सङ्ग्रहमा राजनीति तथा सत्तासम्बन्धी १०२, सामाजिक विभेदसम्बन्धी २०, मायाप्रेमसम्बन्धी ६६ र विविध विषयका २४४ गरी ४३२ वटा मुक्तक समेटिएका छन् ।
कृतिमाथि समीक्षात्मक टिप्पणी गर्दै विनोद विवश घिमिरेले केही कमीकमजोरी भए पनि सङ्ग्रहमा धेरै राम्रा र चोटिला मुक्तक रहेको बताए । प्रलेस कोसी प्रदेशका अध्यक्ष बिन्दु दाहाल ‘मूकदर्शक’ले भावना, विषयवस्तु र सशक्त प्रस्तुतिका कारण कृतिका मुक्तक अनुभवी प्रगतिशील मुक्तककारका खारिएका सिर्जनाजस्ता रहेको धारणा व्यक्त गरे ।
मुक्तककार राजु परियारले समाजमा बढ्दै गएको विकृति र विसङ्गतिलाई आफूले अनुभूत गरेका आधारमा समाज सुधारको उद्देश्यसहित मुक्तकमा प्रस्तुत गरेको बताए ।
कार्यक्रमका अध्यक्ष तथा बेलबारी साहित्य विकास समितिका अध्यक्ष रमेश निरौलाले कृति प्रकाशनका लागि परियारले निकै मेहनत गरेको उल्लेख गर्दै बेलबारीमा प्रकाशनपूर्व पाण्डुलिपिमाथि छलफल गर्ने परम्परा विकास गरिएको बताए ।
कार्यक्रममा भरत बर्बरिक, सरन परियार, शिव पराजुली ‘सहयात्री’, रूपनारायण श्रेष्ठ र छात्रा सीता थापालगायतले कृतिभित्रका तथा आफ्ना रचना वाचन गरेका थिए ।
बेलबारी–२ स्थित रमिते सामुदायिक वन उपभोक्ता समितिको सभाकक्षमा सम्पन्न कार्यक्रममा साहित्यकार, सामाजिक अभियन्ता, जनप्रतिनिधि तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । कार्यक्रम साहित्यकार जेबी थुलुङले सञ्चालन गरेका थिए भने समितिकी उपाध्यक्ष लक्ष्मी रेग्मी सुवेदीले स्वागत मन्तव्य राखेकी थिइन् ।



















