दुनियाको दुख देख्ने
मेरा आँखा सधैँ खुला रहे,
अस्पतालका सेता पर्खालमा
फलानोको सास छोड्दै गर्दा
आँखा रसाए,
भोकको खाली थाल देख्दा
आत्मा काँप्यो, मन बेचैनि बन्यो
अरूको छायाँ लम्बिँदा
मेरो मन
छियाछिया भयो।
अरूको घाउ
मैले सधैँ
पहिले देखेँ,
रगतको रङ चिन्ने
मेरा आँखाले
आफ्नै छातीभित्र
निरन्तर बगिरहेको
मौन रक्तश्राव
कसैले देखेन।
म हाँसिरहेँ
आकाश चिरिएको बेला पनि
मुस्कानको छाता ओढेर,
किनकि रोए भने
मेरो आँसुका थोपा
अरूको दुखमा
थप भार बन्छन् भन्ने डर थियो।
म बोलेनँ
शब्दहरू घाँटीमै अड्किए,
किनकि
मेरो पीडा सुन्ने
समय
कसैको पात्रोमा थिएन।
फलानो दुखी छ भनेर
चिन्तित हुने
मेरा आँखाले
म आफैँ
भोकको आगोमा पोलिँदै,
थकानको ढुङ्गा बोकेर,
दिनदिनै भत्किँदै छु भन्ने कुरा
कसैले पढ्न सकेन।
सायद
मेरो दुख
चिच्याएर होइन,
मौनको कफिनमा
जिउँदै गाडिएको थियो।
र यो संसारले
ठूला आवाज सुन्न त सिक्यो,
तर
मौन पीडा पढ्न
कहिल्यै सिकेन।
मौनतालाई बुझ्ने हैसिएतको
हकदार कहिलै भएन।
जमुना क्षेत्री
इटहरी




















