बग्छ ऐनामा पानी जसरी
बग्दैन आँसु
आँसु बग्न त आँखा कै डील चाहिन्छ
रोएर बर्षात शीशामा पोखिन्छ
बलेसीमा देखिन्छ
भूँइलाई खोपिल्टो बनाएर
हाँस्छ जसरी बर्षात्
आँखा हाँस्नै सक्दैन
नानी बाटै पानीको मूल फुटेपनि।
मनको कुनामा चिसो पसेपछि
ओठ फर्फराउछ
ठीहीमा जस्तै शरिरका अंगहरू
लुगलुग काप्न थाल्छन्
निधार बाट पसिना बग्न थाल्छ
देखिन्छ सबै,
मात्रै देखिदैन मन कापेको ,
र देखिदैन आँखा बाट नाक हुँदै
मुखले आँसु पिएको
बर्षातमा जसरी ऐनाले बोक्छ पानी
र बग्छ ऐना कै बाटो भएर
शून्य / शून्य
आफै भित्र कोलाहलमय बाँचेर
ऐनाले आफ्नै पीडा भने लुकाउने गर्छ।
आँखा थाकेर
आँखै बाट नुनिलो पानी बग्न थालेपछि
प्रेम / उत्सर्ग केही देख्दैन
समर्पण / त्याग केही सोच्दैन
मायालाई पनि मिथ्या ठान्न थाल्छ
जब मनको ज्वाला तरल बनेर बग्न थाल्छ
परेली भिजाउदै
यतिबेला ,
शब्दको आक्रोश शुन्यतामा हराउछ
आँशु उदण्ड बनेर
ऐनामा पानी बगे झै
बहकिएर भेल बनेर बग्न थाल्छ
बहकिएको पानीले
साँध / सिमाना
छेउ / कुना केही भन्दैन
तिम्रो मनको आवेगलाई परै छोडेर
उ एक्लै जीवनको लामो यात्रामा निस्क्न्छ
आफ्नै मनलाई एकछिन थन्क्याएर
अर्को सुगम बाटो भेटिने अभिप्सा बोकेर।
विमल वैध्य




















