देश बनाउने शक्ति सधैँ भीडमा मात्र हुँदैन,

कहिलेकाहीँ त्यो चेत केवल 

एउटा मन भित्र जागृत हुन्छ

एउटा मन, जो डरले होइन,

सत्य र संकल्पले चल्छ।


मानिसहरू भन्छन्

“एउटाले मात्र के परिवर्तन ल्याउँछ?”

तर यही प्रश्नको छायाँभित्र

इतिहासका सबै मुक्तिका उज्याला चिहानबाट उठेझैँ

फेरि फेरि चम्किरहन्छन्।


देश उठाउने हात

भीडको आवाजमा होइन,

एकान्तमा जन्मिने दृढ–प्रतिज्ञामा बस्छ;

त्यो संकल्प

राष्ट्रको मेरुदण्ड जस्तै

शान्त तर अटल शक्तिमा परिणत हुन्छ।


एउटा व्यक्तिको आँसुले

कहिलेकाहीँ हजारौँका पीडा बोक्छ,

उसको स्वप्नाले

लाखौँको भविष्य बोल्छ,

उसको सत्यप्रति समर्पण

देशले काँचुली फेरि बदल्न सक्छ।


देश त भीडले होइन,

एक साहसी मनले उठाइदिन्छ

जो भित्रको उज्यालो बोकेको हुन्छ,

र यही उज्यालो

बन्द भएका आँखाहरू खोल्न सिकाउँछ।


त्यही “एक योद्धा”

हातमा हतियार होइन

आदर्श र सत्य बोकेको सेना हो

उसको एकल दृढता

असंख्य हृदयमा चेतनाको बिर्को खोल्छ,

उसको कथाले

राष्ट्रको सामूहिक निडर आवाज बोल्छ ।


देश त्यही दिन बदलिन्छ,

जब एउटा मन भन्छ

“म एक्लै भए पनि

उभिन्छु, उज्यालो बोकेर अघि बढ्छु,

र आवश्यक परे

देशको लागि बलिदान दिन तयार छु,


एउटा व्यक्तिको

शान्त तर गहिरो स्पन्दनबाट

महान राष्ट्रहरू जन्मिएका छन्

र फेरि जन्मिन बाँकी छ

त्यसै उज्यालो बोकेर

तिमीभित्र, मभित्र,

हामी सबैका अन्तरतमभित्र।

जन्मिनु पर्छ, राष्ट्रभक्ति ।।


विनोद विवश

इटहरी