हिजोआज,
कङ्क्रीटका निर्जन भित्ताहरू
सुम्सुम्याइरहेको छ ऊ।
सिंह मर्मरको बार्दलीबाट चिप्लिएर
जिर्ण सडकको अनाम खाल्डोमा पछारिएपछि,
अधमरो शरीरमा जबर्जस्ती त्राण भरेर
चुमिरहेको छ, चाटिरहेको छ फेरि पनि
बडा आनन्दले।
चाइनिज इँटाको पिठ्युँमा पोतिएको
सिमेन्ट र बालुवाको सुख्खा रसायन,
चुरोटको धुवाँ र निकोटिनको कसले जलेका ओठ जोतेर
सहवास गरिरहेको छ,
कामबासनाले चुर भएर।
माकुरै माकुराको जालोले बेरिएको,
शहरिया संकिर्ण धूलो–धुवाँले पहिचान छोपेको
एकथान नाङ्गो पलङसँग
लुटिरहेको छ, खुटिरहेको छ बारम्बार
आफ्नै सपनाहरूको शाश्वत अस्तित्व।
सायद,
अझै छोडेको छैन —
शरद सुसेल्दै गरेको पुलकित सरगममा,
एकादिउँसै बिना सितन घुटक्याएको
रगतको मदिराले
अझै लट्ठ छ,
मख्ख छ ऊ, पूर्ववत् भ्रममा।
थाहा छैन,
पुस्तान्तरणको विशाल आँधीले उडाएर
धेरै पर पुर्याइसकेको छ
उसको टेक्ने बाँझो धरती र
ओत लाग्ने मौन आकाश।
र पनि, यहीँ,यस्तै सोचिरहेको छ ऊ —
हरेक रात कौमार्य पोखेर पनि,
प्रत्येक बिहान भर्जिन कटाक्ष गरिरहने
सदाबहार बैंशले उन्मत्त सत्ता नाउँकी
सुन्दर षोडशीको न्यानो अँगालोमै छु म!
हो, यहीँ सोचिरहेको छ ऊ —
मेरै पञ्जामा छन् आज पनि
उसका भरिला, पोटिला हिमानी वक्ष,
लोभलाग्दा लालुपाते ओठ,
स्याउजस्ता रसिला गाला,
हेरी रहुँ जस्तो बारुले कम्मर,
हिमनदिका भँगाला जस्ता पिँडुला।
कसम! यही सोचिरहेछ ऊ —
अघाउन्जेल भोगिरहेछु म उसलाई।
भियग्राको रापले उत्तेजित बासनाको आगो ओकेल्दै
लुछिरहेको छु कुमारी फूलका पत्रपत्र,
चुमिरहेको छु अङ्ग–प्रत्यङ्गहरू,
चुसिरहेको छु यौवनको मादक मधुरस।
म यो युगको इन्द्र जो हुँ,
किनकि —
यो अमरावती मेरै हो,
यो रजगज,
यो सारा ऐश–आराम मेरा लागि हो,
मात्र मेरा लागि।
तब त —
बर्बराइरहेको छ उसैगरी,
उहीँ लय, उहीँ संगीतमा।
सिंहदरबारदेखि गाउँ सरकार जलिसक्दा पनि,
बाग्मतीको लहरमा पानीको साटो रगत बगीसक्दा पनि —
हो, बर्बराइरहेको छ उसैगरी।
लासहरूको शिरानी बनाएर,
घण्टाघरको बन्द घडीमा आधा झुकेको समयको
मौन रफ्तार हेरेर मख्ख पर्दै,
पानीबिनाको रानीपोखरीलाई
स्वर्गको अमरावती सम्झेर —
छोरा पुस्ताको सामूहिक विद्रोहले
गाथगद्दीको घोडाबाट खसालेर,
रक्षानमा मिल्काइदिएको
बेताज बादशाह-
भनिरहेको छ —
> “इन्द्रासन मेरो हो, केवल मेरो!
बाँकी कसैलाई चिन्दिन म।
के को विद्रोह?
को जे.एन.जी.?
कस्तो पुस्तान्तरण?
त्यो त केवल अखबारी हल्ला मात्रै हो।”
साँच्चै! हो रहेछ —
(Slow poison)
मन्द विषजस्तै हुँदो रहेछ
शक्तिको ह्याङ्ओभर।
The ह्याङ्ओभर।
एमपी पाण्डे,अछाम




















