हिजोआज,

कङ्क्रीटका निर्जन भित्ताहरू

सुम्सुम्याइरहेको छ ऊ।


सिंह मर्मरको बार्दलीबाट चिप्लिएर

जिर्ण सडकको अनाम खाल्डोमा पछारिएपछि,

अधमरो शरीरमा जबर्जस्ती त्राण भरेर

चुमिरहेको छ, चाटिरहेको छ फेरि पनि

बडा आनन्दले।


चाइनिज इँटाको पिठ्युँमा पोतिएको

सिमेन्ट र बालुवाको सुख्खा रसायन,

चुरोटको धुवाँ र निकोटिनको कसले जलेका ओठ जोतेर

सहवास गरिरहेको छ,

कामबासनाले चुर भएर।


माकुरै माकुराको जालोले बेरिएको,

शहरिया संकिर्ण धूलो–धुवाँले पहिचान छोपेको

एकथान नाङ्गो पलङसँग

लुटिरहेको छ, खुटिरहेको छ बारम्बार

आफ्नै सपनाहरूको शाश्वत अस्तित्व।


सायद,

अझै छोडेको छैन —

शरद सुसेल्दै गरेको पुलकित सरगममा,

एकादिउँसै बिना सितन घुटक्याएको

रगतको मदिराले 

अझै लट्ठ छ,

मख्ख छ ऊ, पूर्ववत् भ्रममा।


थाहा छैन,

पुस्तान्तरणको विशाल आँधीले उडाएर

धेरै पर पुर्‍याइसकेको छ

उसको टेक्ने बाँझो धरती र

ओत लाग्ने मौन आकाश।


र पनि, यहीँ,यस्तै सोचिरहेको छ ऊ —

हरेक रात कौमार्य पोखेर पनि,

प्रत्येक बिहान भर्जिन कटाक्ष गरिरहने

सदाबहार बैंशले उन्मत्त सत्ता नाउँकी

सुन्दर षोडशीको न्यानो अँगालोमै छु म!


हो, यहीँ सोचिरहेको छ ऊ —

मेरै पञ्जामा छन् आज पनि

उसका भरिला, पोटिला हिमानी वक्ष,

लोभलाग्दा लालुपाते ओठ,

स्याउजस्ता रसिला गाला,

हेरी रहुँ जस्तो बारुले कम्मर,

हिमनदिका भँगाला जस्ता पिँडुला।


कसम! यही सोचिरहेछ ऊ —

अघाउन्जेल भोगिरहेछु म उसलाई।

भियग्राको रापले उत्तेजित बासनाको आगो ओकेल्दै

लुछिरहेको छु कुमारी फूलका पत्रपत्र,

चुमिरहेको छु अङ्ग–प्रत्यङ्गहरू,

चुसिरहेको छु यौवनको मादक मधुरस।


म यो युगको इन्द्र जो हुँ,

किनकि —

यो अमरावती मेरै हो,

यो रजगज,

यो सारा ऐश–आराम मेरा लागि हो,

मात्र मेरा लागि।


तब त —

बर्बराइरहेको छ उसैगरी,

उहीँ लय, उहीँ संगीतमा।

सिंहदरबारदेखि गाउँ सरकार जलिसक्दा पनि,

बाग्मतीको लहरमा पानीको साटो रगत बगीसक्दा पनि —

हो, बर्बराइरहेको छ उसैगरी।


लासहरूको शिरानी बनाएर,

घण्टाघरको बन्द घडीमा आधा झुकेको समयको

मौन रफ्तार हेरेर मख्ख पर्दै,

पानीबिनाको रानीपोखरीलाई

स्वर्गको अमरावती सम्झेर —


छोरा पुस्ताको सामूहिक विद्रोहले

गाथगद्दीको घोडाबाट खसालेर,

रक्षानमा मिल्काइदिएको

बेताज बादशाह- 

भनिरहेको छ —


> “इन्द्रासन मेरो हो, केवल मेरो!

बाँकी कसैलाई चिन्दिन म।

के को विद्रोह?

को जे.एन.जी.?

कस्तो पुस्तान्तरण?

त्यो त केवल अखबारी हल्ला मात्रै हो।”


साँच्चै! हो रहेछ —

(Slow poison)

मन्द विषजस्तै हुँदो रहेछ

शक्तिको ह्याङ्ओभर।


The ह्याङ्ओभर।

एमपी पाण्डे,अछाम