धुम्म बादल घरी यता घरी उता मडारिन्छन
लाग्छ घनघोर बर्षा हुने बाला छ
धाजा फाटेका धराका गरा सम्झदै
किसानका आँखा उत्साहले चम्कन्छन
ओठहरू फराकिलो पार्दै मुस्कुराउछ।
तत्क्षण हराउछन् बादलका हुलहरू आकासबाट
लाग्छ बादल नै अपहरणमा परेेको छ
किसानका ओठ र आखाँमा बलेको
आशाको दियो झ्याप्प निभ्छ
अचम्म भइरहे छ आजकाल प्रकृतिमा
यि र यस्तै प्रक्रिया
बारम्बार दोहोरी रहेछ
किन यस्तो भइरहेछ?!?
बेमौसमी बतास उस्तै
बे लगाम
घरी पुर्व बहन्छ,
घरी पश्चिम बहन्छ
घरी फनफनी घुम्छ बेजोडसंग
लाग्छ बतासलाई बेस्सरी रिस उठेको छ
र आफ्नो रिस पोख्न प्रतिक्रिया दिइ रहेछ
लाग्ला यो समान्य हो
तर यो सामाान्य छैन!
प्रकृतीले केही भन्न खोजे जस्तो छ।
लाग्छ उनी भित्र कुनै असाध्य पिडा छ ,
ऐँठन छ।
जस्ले उनलाई छट्पटी भइरहेछ।
रजस्वला प्रारम्भ हुदाकी नारी
वा रजोनिवृति अवस्थाकी नारी या
प्रसव पिडाले छटपटाइ रहेकी नारी
जस्तै अवस्था महसुस भइरहेछ
आखिर के को पिडामा छिन प्रकृति?
आँसुहरू रोकिएकाछन
पिडाहरू पखाल्न नसकेर
ऐँठन भएको छ प्रकृतिलाई
सांकेतिक रूपमा झकझक्याए जस्तो लाग्छ
केहि अनौठो त हुन लागेको होइन?!
यस्ता छटपटाहट
अक्सर सान्तान माथि केहि प्रतिकुलता हुने
संकेतका रूपमा जननीमा हुनेगर्छ।
आखिर के भइरहेछ?!
प्रकृतिको ऐँठन कस्ले बुझ्ला?
जलको थोपा थोपाका लागि तड्पि रहेछिन धरती
उता जल बर्षाउन छट्पटाइ रहेछ बादल।
आखिर के को ऐँठन हो यो प्रकृतिको ?!
निर्मला नेपाल ,विराटनगर




















