मसी कोर्छ, कसी कोर्दैन,
शिर्षक कोर्छ सार कोर्दैन,
न सुन्छ, न गुन्छ,
न जान्दछ, न मान्दछ,
अौपचारिकताको माहासागरमा
अन्धकारमय अस्तित्व संकटले बेरिदै
भजमन्ते भूँग्रोमा पिल्सिदै छ कलम ।।
तदर्थ बुझ्छ, यथार्थ बुझ्दैन
जीबन बुझ्छ, जीबिका बुझ्दैन
स्वयं चिन्छ, सारा चिन्दैन
म भन्छ हामि भन्दैन
अाकाश देख्छ ,पत्ताल देख्दैन
मञ्चासिन चक्रब्यूहको गोलचक्करमा
लम्पसार नेपथ्यमा लामबद्द छ कलम ।।
शाशन लेख्छ, कुशासन लेख्दैन,
मेवा लेख्छ, टेवा लेख्दैन,
किताब लेख्छ , ज्ञान लेख्दैन
चिन्ता लेख्छ, चिन्तन लेख्दैन
समस्या लेख्छ, समाधान लेख्दैन,
ताप लेख्छ, अभिषाप लेख्दैन
भाब लेख्छ अभाब लेख्दैन
ठुलो लेख्छ ,असल लेख्दैन
पुरस्कार लेख्छ,तिरस्कार लेख्दैन
दाता लेख्छ, श्रोत लेख्दैन
बोक्रो लेख्छ, गुदी लेख्दैन
प्रसंसा लेख्छ कर्तुत लेख्दैन,
प्रेमीलतताको उल्टो डुङ्गा सयरमा
कुइरोको काग बन्दै छ कलम ।
तदर्थ लेख्छ, यथार्थ लेख्दैन,
ताली लेख्छ, गाली लेख्दैन,
डकार लेख्छ, खकार लेख्दैन,
सुर्ता लेख्छ, कर्ता लेख्दैन,
बिषाक्तताको बन्दिगृहमा ,
धोद्रो सुसेली धन्काउदै
अतृप्त स्वप्नाको माला जपेर
अदृश्य खेतालाको बैशाखीमा
ढोल ढ्याङ्गो शून्य कांठे झाक्रि झैँ
अब्बलताको पगरी भिर्दै
कोरा कागज कोर्दै छ कलम ।।
मणि दाहाल
विराटनगर




















