ठ्याङर्याङ्ग रयाङ्ग ठ्याङर्याङ्ग रयाङ्ग

आवाजले मेरो निद्रा खुल्यो । टर्चलाइट बाले नाडीमा बाँधेको घडी हेरे । रातको बाह्र बज्दै रहेछ ।  


विजुली गएको रहेछ अर्थात लाइन थिएन त्यतिबेला । अँधेरी रात। चारैतर्फ कालो अँध्यारो।मनमा डर पनि भयो। कौतुहलता पनि।के को आवाज होला त्यो। आँखा खुल्लै थियो मेरो । एक मिनेटको समयको अन्तरालमा फेरि त्यही आवाज आँगनतिरबाट आयो। गर्मीले बेहाल म घर बाहिर बरन्डाको खाटमा झुल लगाएर सुतेको थिएँ । तराईको ठाउँ मच्छर उग्र लाग्थ्यो।झुल पन्छाएर टर्चलाइट बालेर आँगनतिर हेरेँ। एउटा कालो कुकुरले ढेकी घिसार्दै गरेको देखेँ।खाटबाट ओर्लिएर अलि नजिक गएर हेरेको त त्यो कालो कुकुरले ढेकी भित्र मुन्टो अड्काएको रहेछ। केही गर्दा पनि न निस्किएपछि ढेकी सहित डोर्याउदै हिँडेको रहेछ।


अब के गर्ने त!  ढेकी कता लाने हो कि कुकुर नै मर्ने पो हो कि ?

मेरो घरको कुकुर त हैन रहेछ त्यो । जसको होस् उसको प्राण बचाउनु मेरो धर्म ठानें  । जसोतसो उसको त्यो ढेकीभित्रबाट मुन्टो निकाल्न सफल भएँ  । 


बाँच्यो कुकुर । मुन्टो बाहिर निस्किएपछि यस्तो भाग्यो कि ! अगुल्टोले हानेको कुकुर बिजुली चम्किदा तर्सिन्छ ! त्यो भन्दा बढी तर्सेिएछ   । उसकै प्राण बचाइदिन खोजेको उसलाई तर्सिने रोग लागेछ  ।"

भूपाल अधिकारी