सुर्य 

खण्डित भएर 

भूगोल निर्माणक‍ो

जङ्गली युग पश्चात्

मानिसहरूले देश खोजे

भेष खोजे

आफ्नै संस्कार रोजे 

कतै थिएन अनिकालको नामनिशान

न कतै थियो हाहाकार

छँदैथिएन आँसुको समुन्द्र

न कतै भत्केको थियो

 सद्भावको पोखरी ।


पुर्खाहरूको पसिनासँगै

वसन्तको रङ्गमा

देशभरि लालीगुराँश फुलेपछि

मेरो देश 

मेरो माटो

बगैँचा बन्य‍ो

शान्त बन्यो

आनन्दसँग 

 देश चलेकै थियो

न पसेका थिए राक्षसहरू

न बसेका थिए लोभी डाहाडेहरू

त्यसैले 

जानुपर्दैनथ्यो मुगलान

बेदना के हो 

कसैलाई थाहा थिएन ।


खै,  कहाँ के भयो

यो पवित्र भूमिमा

पसे भस्मासुरहरू

नारदहरू 

दाह्रा धस्नेहरू

मुठी कस्नेहरू

खाली हात बस्नेहरूको 

ओइरो लाग्य‍ो

 साँच्चै  सहकाल 

इतिहासको  कथा बन्यो ।


युबाहरू हातमुख जोड्न  छटपटाए

मातापिता र सपरिवार वैलाए

 भिजेको परेलीले

 एक-अर्काको

 अनुहार नियाले

सुल रोपेसरी मुटु मिचेर 

मुगलान भासिए 

बेदनाको पारो चढ्यो

न छोरा 

न धन 

न खुशी मन

कयाैँ दिन बिते

रात बिते

साल बिते

पर्वहरू बिते

आँसुकै नदीहरूमा  नुहाउँदै

छटपटाइरहे, छटपटाइरहे, छटपटाइरहे ।


आखिर केही लागेन

हिमचुली हार्यो

पहाड हार्यो

भू-धरातलले  हार्यो

कोरोना र भूकम्पले कत्तिलाई चपायो 

तैपनि

कयाैँ शिशिर पछिको पर्वमा

गाउँभरिका मानिसहरू

खुशी  मनाउँदै थिए

सन्तान सम्झदै थिए


अचानक 

भीडैभिडको वीचमा

नेपाली माटो पछ्याउँदै

मुगलानी पुत्र मृत आयो 

सारा गाउँभरि कोलाहाल मच्चियो

यसरी मृत युवाहरूको

लाश आइरहन्छ अचेल

यही हो मेरो देश

यही हो मेरो धन

यही हो मेरो गति

यही हो मेरो जीवन

यही हो मेरो माटो ।

लीलानाथ सिलवाल 

इनरुवा