बेचिए नदि नाला
बेचिदैछन काली गण्डकी मिचिए सिमाना
मिचिदैछन् टुक्राटुक्रामा काला पानी
लिम्पिया धुरा लिपुलेक
बिस्तारै बिस्तारै सर्दैछ जङ्गे पिलर
बेचिदैछ मेरो देशको माटो
बलात्कृत भएको छ
मेरो प्रकृति
रुदैछन् ठुलो आवाजमा
अझै डाँडाकाँढाहरू
खोलाबगरहरू
आँसुको विशाल तालमा
विवशताले बाँचिरहेछन्!
देशको छातीभरि
राताम्यै गुराँस फुलाउँने
मेरा द्यौराली सिंदुर पुछिएको
बिधुवाको सिउँदो
जस्तै फुङ्ग उडेको
अनुहार बोकेर
कुरूप भएकोछ
त्यसैले होला
मडारिएको देखिन्छ
भयावह आवाज रौद्र रुपमा
आकाश
निस्पट्ट कालो
गड्गडाहटमा गर्जेको छ
बादल
विश्वविजेता बन्ने
आकाङ्क्षामा
उम्रेका अनगिन्ती
नरपिसाचहरू
आफ्ना स्वार्थका निमित्त
मच्चाउँदै छन्
आतङ्क !
त्यसैले म भन्छु
आऊ, मानवता रोपौँ
गाएर बुद्धत्व ज्ञान
माहुरीका पाखुराहरू
कमिलाको लस्कर जस्तै
परिश्रमी बन्ने विश्वास
बोकेर एक अङ्गालो अठोट
मनभरि बुनेर
स्वर्णिम सभ्यता
सजाएर एक अञ्जुली सपनाको हृदयमा
आऊ,सङ्कल्प गरौँ
लक्ष्यप्राप्तिको निर्माण गरेर
बिज रोप्न थालौ
सैयौँ थरीका फूल
फुलेसरि
गाएर वीरताको गाथा
बोकेर वीरताको पहिचान
त्यागेर स्वार्थ नविन संसारमा
आउ मानवताको बिज रोप्न थालौ !!
अजिता प्रधान
विराटनगर




















