खोइ म समयलाई
कुरिरहन्छु तर समय
कहिले मेरो हुन सकेन
अनन्तकाल देखि म
समयको पर्खाईमा छु
तर समयले मलाई
सधैं छलिरहन्छ,
समय आफ्नै गतिमा
कहिले हुरी भएर भाग्छ,
कहिले जिन्दगीलाई
बादल भएर ढाक्छ,
तर मलाई पत्तो हुँदैन
कुन बेला कुन रूपमा
मेरो सामु आउँछ समय
तर जीवनभर कुरिरहन्छु
त्यो निष्ठुरी समयलाई
समय बोल्दैन कोहिसङ्ग
आफ्नो उपस्थितिमा
कहिले बादल कहिले घाम
भएर झुल्किरहेको हुन्छ
तर मैले समयको कुनै
रूप देख्नै सक्दिन
त्यसैले म आफू धर्तीमा
रहुन्जेल समयलाई पर्खिरहन्छु
अनन्तकलासम्म तर समय
आउँछ जान्छ काल झै
तर भेट्न देख्न सक्दिन
अदृश्य समयले अझै
जिन्दगीमा कस्तो गति लिएर
कति पहिरो ल्याउने हो
जिन्दगीलाई अझै कति क्षदबिक्षेद
पार्ने हो ज्वारभाटा झै उठेर
टुक्रिएर टुक्रा टुक्रा भएको
मुटु नी अझै कति टुक्रा पार्ने हो
यो पापी र निर्दहि समयले
ए समय आईजो न मेरो सामु
तलाई च्याप्प समाएर आमाको
पुरानो काठको सन्नुसमा माया गरेर
ताल्चा लाएर राख्न मन छ
मृत्युको पल सम्म
डुग्रे मुसो झै मेरो जिन्दगीलाई
धुजा धुजा पारेर काट्ने त
निर्दही समय सङ्ग कसरी वचु
र तलाई कसरी संचित गरेर बचाउ
भन्न ए समय बाँचुन्जेल तेरो र
मेरो मात्र खेलको चक्र चल्ने सपना
मैले ननीदाउँदै दिनमा देखेको छु
मैले देख्ने गरी आईजो न समय
मलाई भेट्न मन छ
म बेफुर्सदी हुँदा कहिले आगो
बनेर बल्छस
कहिले आँखाको पानी
भएर खस्छस
कहिले आफन्ती बनेर आउँछ
कहिले शत्रु बनेर जान्छस्
ए समय तेरो रूप कति कति
आउँदा देख्दिन बुझ्दिन
त आएर गएपछि पछुताउँदै
पुर्पुरो ठोक्छु
अनि जिन्दगीमा कमाएको अमूल्य
पीडाको भारी बोक्छु
म बिर्सन सक्दिन देख्न
भेट्न सक्दिन् काल जस्तो समयलाई
त्यसैले त महान लाग्छ समय
त धन्य छस समय
त रुनेलाई झन् रुवाउँछस्
हास्ने लाई खुब हसाउँछस्
तेरो मुठ्ठी मा बाँच्न बाध्य छौं "समय "
उषा केसी
काठमाडौं




















