जब मेरा यी नजरहरु
कुनै अधवैंसे किशोरी माथि पर्छ
तब प्रश्नका चाङहरु अगाडि लाग्छन्
अनि तिनै चाङहरु मध्ये
मेरो पहिलो प्रश्न हुन्छ स्वयंलाई
तिनी को होलिन ?
गहुँ गोरो गोलो अनुहारमा
कतै हंसमुख,कतै पिडाको छाल
कतै निरासपन
कतै उज्यालोपन र
कतै कृष्णपक्षले ढाके जस्तो
अनुहार बोकेर खुल्ला कागज बनि
छरपस्ट छरिएकी छिन्
उनको मनोभाव पढ्नै गाह्रो !
कहिले समाजवाद
कहिले साम्यवाद
त कहिले क्रान्तिको आगो ओकल्दै
व्यवस्था परिवर्तन र बुर्जुवा शिक्षा
प्रणालीको विरुद्धमा लागेर
सरकारको नजरमा तारो बनिरहेकी
ती नारी को हुन?
अन्यायको विरुद्धमा लाग्दा
आफ्नो पहिचान नै गुमाउन वाध्य परेकी
घर गृहस्थीबाट अलग रहनु परेकी
जसले जूनीभर साथ दिन्छु भनेर
अग्नि साक्षी राखेर सात फन्को मार्नेले
समेत साथ दिएको हात छाडेर
एक्लै लालावाला सहित बाँच्न विवस
ती नारी को हुन?
विश्व ज्ञानले भरिपूर्ण
एक ओजस्वी
कर्ममा तपस्वी
सुन्दर नारी
जसलाई पढ्न
उसैसँग अध्ययन गर्नुपर्ने रहेछ!
साहित्य साधनमा तल्लिन
थोरै सिर्जना तर सदा
अजर अमर रहने
रातो रगतलाई तुरुन्तै उमाल्ने
शक्तिशाली शब्दहरुको खानी
परिवर्तनको वाहक
राज्यले चिन्न बाँकी
कलमले छादेको मान्छे
तिनै नारी जसलाई धेरैले
पढ्न बाँकी छ!!




















