विराटनगर । समाचार संकलनदेखि घटनास्थलसम्म पत्रकारले भोग्नुपर्ने जोखिमलाई मध्यनजर गर्दै कोशी प्रदेशका १ हजार २२७ पत्रकारको दुर्घटना बीमा कार्यक्रम शुभारम्भ गरिएको छ।

‘सुरक्षित पत्रकार, निर्भीक पत्रकारिता’ भन्ने मूल नाराका साथ सुरु गरिएको कार्यक्रमको उद्घाटन मंगलबार बिहान विराटनगरस्थित होटल रुविजमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गरेका हुन्।

पत्रकारिता पेशालाई थप सुरक्षित, मर्यादित र जिम्मेवार बनाउने उद्देश्यले अघि बढाइएको यस कार्यक्रमले समाचार संकलन, रिपोर्टिङ तथा सम्प्रेषणका क्रममा पत्रकारले सामना गर्नुपर्ने सम्भावित जोखिम न्यूनीकरणमा महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ।

दुर्गम तथा जोखिमयुक्त क्षेत्रमा पुगेर जनताका आवाज उजागर गर्ने पत्रकारको पेशागत सुरक्षालाई प्राथमिकतामा राख्दै सञ्चालन गरिएको दुर्घटना बीमा कार्यक्रमले पत्रकारिता क्षेत्रमा सुरक्षाको प्रत्याभूति बढाउनुका साथै पत्रकारलाई अझ निर्भीक भएर सत्य, तथ्य र जनसरोकारका विषयमा कलम चलाउन प्रोत्साहन गर्ने विश्वास गरिएको छ।