ऊ एक शिक्षक

  अनेकौं पेशाभन्दा  माथि छ  कर्मले 

तर बारबार उसैलाई अभावले च्याप्छ

समाजको नजरले च्याप्छ ।


जिन्दगीको क्षितिजमा

 कति उत्साह बोकी हिँडेथ्यो ऊ 

आज मिहिनेतको मोल पाउन नसकी 

आफ्नै आवश्यकताले थिचिएको छ

अभावले तड्पिएर

प्रतिष्ठा हराएको जीवन बोकेर  ।

 

हावा हुरी,आँधी बेहरी सहनुपर्छ

फूलले फल बन्नकै लागि थाहा छ 

तर,जब जब रोग बल्झिन्छ,

पेटहरू  तृप्त हुन कुर्न थाल्छन् 

हो यही बेला 

उसको प्रतिष्ठा हराउन थाल्छ 

जताततै उधारोले डेरा जमाउन थाल्छ ।

  तलबको सानो रेखा कुर्दै 

निरन्तर मिहिनेत गरिरहन्छ

अपजसको पहाड बोकेर ।


अलिकति अधिकार लिन 

बारबार आन्दोलन

गर्न बाध्य छ ऊ ।

     

    कति धेरै कर्मचारी 

    उत्पादन गरिसक्दा पनि,

   कानून लेख्ने टेबुलमा आफ्ना

  शिष्यहरू नै पुर्याउँदा पनि

  न्याय पाउँदैन उसले 

 अनि ऊ बेला  बेला 

आफ्ना अधिकारका खातिर 

आन्दोलन गर्न बाध्य हुन्छ  

तातो घाम ,चिसो बताससँगै 

 

तैपनि ऊ आफ्नो  कर्ममा 

   कहिल्यै चुक्दैन निरन्तर मिहिनेत

गर्दै अघि बढिरहन्छ

ज्ञ्यानको उज्यालो छरिरहन्छ ।


              सन्ताेषी दाहाल

               विराटनगर -५