ऊ एक शिक्षक
अनेकौं पेशाभन्दा माथि छ कर्मले
तर बारबार उसैलाई अभावले च्याप्छ
समाजको नजरले च्याप्छ ।
जिन्दगीको क्षितिजमा
कति उत्साह बोकी हिँडेथ्यो ऊ
आज मिहिनेतको मोल पाउन नसकी
आफ्नै आवश्यकताले थिचिएको छ
अभावले तड्पिएर
प्रतिष्ठा हराएको जीवन बोकेर ।
हावा हुरी,आँधी बेहरी सहनुपर्छ
फूलले फल बन्नकै लागि थाहा छ
तर,जब जब रोग बल्झिन्छ,
पेटहरू तृप्त हुन कुर्न थाल्छन्
हो यही बेला
उसको प्रतिष्ठा हराउन थाल्छ
जताततै उधारोले डेरा जमाउन थाल्छ ।
तलबको सानो रेखा कुर्दै
निरन्तर मिहिनेत गरिरहन्छ
अपजसको पहाड बोकेर ।
अलिकति अधिकार लिन
बारबार आन्दोलन
गर्न बाध्य छ ऊ ।
कति धेरै कर्मचारी
उत्पादन गरिसक्दा पनि,
कानून लेख्ने टेबुलमा आफ्ना
शिष्यहरू नै पुर्याउँदा पनि
न्याय पाउँदैन उसले
अनि ऊ बेला बेला
आफ्ना अधिकारका खातिर
आन्दोलन गर्न बाध्य हुन्छ
तातो घाम ,चिसो बताससँगै
तैपनि ऊ आफ्नो कर्ममा
कहिल्यै चुक्दैन निरन्तर मिहिनेत
गर्दै अघि बढिरहन्छ
ज्ञ्यानको उज्यालो छरिरहन्छ ।
सन्ताेषी दाहाल
विराटनगर -५




















