सत्यवती 


        'म लुतेँ भएछु नि नानी ? ऐनामा आफ्नो मुहार हेरेर भुर्तेल्नी आमाले छोरीलाई सोध्थिन्!

        "छैन आमा! बल्ली पो हुनु भएको छ'", छोरीले भन्थिन्।

         आमा मुसुक्क  मुस्काउथिन्, नपत्याए पाराले ।   त्यही हाँसोमा आमाको आयुका रेखाहरू थपिन्थे।  


         बयानब्बे वर्षकी भुर्तेल्नी आमालाई रोगले ग्रस्त पारेपछि छोरा-बुहारीले डाक्टर देखाए, आमाको मुटुको रोग पत्ता लाग्यो ।  बुढेसकाल एक्लै आउँदैन, धेरै रोगहरू साथी बनेर आउँछन्। आमाको शरीरमा अर्को रोग थपियो, औषधिको मात्रा थपिएपछि महिनाको खर्च पनि थपिने भो'। आमालाई इ सी जी गर्न लगे पछि 

कान्छा छोराले अस्पतालको बेन्चमा बसेर  पुरपुरोमा हात राखेर सोच्यो।

   आमाले अस्पताल भर्ना हुन नमान्नु अर्को बिडम्बना! डा.को सल्लाहमा घर लिएर आए। 

     आमालाई हेरचाह गर्न छोरा-छोरी पालैपालो बस्न थाले। गाउँकाहरू कोही गफ बोकेर, कोही दही, दूध, बिस्कुट बोकेर विरामी हेर्न आउन थाले,  कोही भने मर्छे कि बाँच्छे भन्ने आशङ्का बोकेर आँउथे ।

       बर्खाको दिन! आफन्तहरू टाढा टाढा हुनेहरू फोनमा विरामी हेर्न थाले । आफन्तहरू र मानवता सम्झनेहरू आशीर्वाद लिन आए । कोही सेल्फी र फोटो  लिन्थे अनि "गेट वेल सुन" फेसबुक र स्टोरीमा राख्थे, अनि दयनीय अवस्थाको फोटो वालमा टाँस्थे । 

      दु:ख गरेर पढाएका छोराछोरी आमाको सेवामा  थिए।  नियतिको चक्र  कतिखेर बन्द हुन्छ ? दैवो नजाने कुतो मनुष्य !  आमाको  चौरासी गरे, मनराख्न पूजा-पाठ, धामी-झाँक्री, फेदाङ्बा, लगाए । हेर्न आउनेहरूलाई गहभरि आँसु  पारेर छोरी भन्थिन्,- " हजुरहरूले आमाको छेउमा नकारात्मक कुरा नगरिदिनुहोला,  नकारात्मक सन्देश नसुनाईदिनुहोला है"। 

  समय आफ्नो रफ्तारमा थियो, बन जङ्गल उजाड भयो तर भुर्तेल्नी आमाका गालामा भने लाली चढ्दैन गयो ।

       छोरी सत्यवतीलाई मनभित्र एक प्रकारको त्राशले टोकिरहन्थ्यो। सत्यलाई आदर्श मानेर हिँड्ने नारी, एउटी उदाहरणीय छोरी र कर्तव्यनिष्ठ बुहारी तँ किन झुटो बोल्दैछस?  खै तेरो आदर्श !

    अर्को मनले भन्थ्यो, आखिर आमा हुन्, आमा नै भगवान हुन्, आमाको मनमा आएको सकारात्मक सोच र दृढ विश्वासले जरा गाड्नु नै आमाको स्वास्थ्यमा सुधार आउनु हो !  स्याबास छोरी ।

        आमा दवाई खाएर मस्त स्वप्न  संसारमा डुब्थिन् छोरी जागै रहेर झ्यालबाट पाफी छितीज हेरेर आफैँलाई प्रश्न गर्थिन्,- " सत्यवती आखिर तँ सही छस् की गलत ?"


गीता श्री शर्मा,   गान्तोक,  सिक्किम