कविता

   शीर्षकः  जीवन यात्रा 


अडिन्न रहेछ आँसु परेली बगरमा 

मन त्यसै उडिरहन्छ किन सगरमा

आफुले आफैलाई सम्याउन साह्रो 

के ठिक के गलत ठम्याउन गाह्रो 


क्षितिज अङ्गाल्ने कैयौं सपनाहरू 

खोलीमा पौडी रहेका कल्पनाहरू 

आफैदेखी भागी हिंड्छ छायाँ पनि

छुट्याउन कठिन भयो माया पनि 


मनभित्र पलाएका आसहरू

मनबाटै हराउँछ अतृप्त प्यासहरू

आफ्नो पहिचान खोजी हिंड्दा 

अत्यास परिस्थिति सङ्ग भिड्दा


तुहिन्छ बाटोमा नै कैयौं

सम्भावनाका बगरहरू यहाँ

पिउनु पर्छ कहिलेकाँही 

अमृत सङ्ग जहरहरू यहाँ


मुस्कुराउनु पर्छ पतझरमा फूलले

धेरै सिकाउँछ जिन्दगीमा भुलले

जित मात्र होईन हार पनि सहनु पर्छ

खोली जस्तै सहेर भार बहनु पर्छ


सृष्टिको यात्रा हो यो जिन्दगी 

समयनुकूल निरन्तर चलिरहन्छ 

थाहा हुन्न कहिले हुन्छ विश्राम 

कहिले सम्म हो खोली जस्तै बगिरहन्छ।


- शरद प्रधानाङ्ग, विराटनगर - ७