मणि दाहाल
विराटनगर ;११
हुलका हुल भै आए सेता काला सबै थरी
लामा सुँड उठाएर वस्ती नै थर्कमान् गरी ।
घुम्दछन् गाउँमा जैलै मास्दछन् जनको धन
अति भो उपद्रो हेर लखेटौ उठ सज्जन ।।
सबैले देवता मान्दै पूज्दै छौ देवत्वै सरी
धूप दीप र नैवेद्ध्य सबै नै अर्चना गरी
देव नै दैत्य भै अाए दार्हा लामा गरीकन
कतिन्जेल् रमिते बन्ने लखेटौ उठ सज्जन ।।
भएको झुपडी सम्म उजाड्छन् निर्दयी बनी
पिल्सिए सपना जम्मै अागो झै बलि दन्दनी ।
नास्दै छन् सम्पदा जम्मै भोका भै दिनका दिन
चुँडियो धेर्यको दाम्लो लखेटौ उठ सज्जन ।।
उदण्ड माउ नै बन्दै गर्दै छन् जनको खती
माउको अाडका छावा देखिन्छन् उदण्डै अति।
उदण्ड हुलको पूज्ने मात्रै भो जनजीवन
भोकाको विपना खोस्ने लखेटौ उठ सज्जन।।
लम्पट तालमा उस्तै देखिन्छन् माउते पनि
उनै छन् भक्तका प्यारा उनै छन् सौखका धनी
हात्तीले सताए हेर चुँडाइ नीति बन्धन
टेर्दैनन् नउठे सम्म लखेट्न जाग सज्जन ।।
साधु भै डुल्छन् कैले हात्तीका मौसमी हुल
पूज्दछन् हर्ष भै सारा बर्षाइ महँगा तुल
बिग्रेको मतिमा कैलै के हुन्थ्यो सुध्रने पन
हात्ती छन् खर्चिला धेरै नपालौ बुझ सज्जन ।।




















