विराटनगर । बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को अवशेष र पश्चिमी वायुको प्रभावले कोशी प्रदेशसहित देशका विभिन्न भूभागमा वर्षा भइरहेको छ । बिहीबार साँझदेखि सुरु भएको वर्षा आज पनि जारी रहने मौसम पूर्वानुमानले देखाएको छ । विशेषगरी कोशी, प्रदेश र वाग्मती प्रदेशका विभिन्न स्थानमा भारी वर्षा हुने सम्भावना रहेकाले सतर्कता अपनाउनुपर्ने मौसम बिदले जानकारी दिएका छन्  ।

नेपाल मौसम विज्ञान विभागका अनुसार आज दिउँसो कोशी, मधेस र वाग्मती प्रदेशका एक–दुई स्थानमा भारी वर्षा तथा हिमपातको सम्भावना रहने बताए  । यी तीनवटै प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ ।

दिउँसो कोशी, मधेस, वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा अधिकांश स्थानमा बादल लाग्नेछ । सुदूरपश्चिम प्रदेशमा भने सामान्यतया बादल लाग्ने विभागको आकलन छ ।

गण्डकी प्रदेशका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुन सक्नेछ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा भने थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ ।