खैरो हेरोइन ५०० ग्राम र पेस्तोलसहित तीन जना पक्राउ
- कार्तिक १४, २०८३
- ९९ पटक पढिएको
विराटनगर । लागूऔषध नियन्त्रण ब्युरोले खैरो हेरोइन ५०० ग्राम र पेस्तोलसहित तीन जनालाई पक्राउ गरेको छ।
भारतमा बसेर नेपालमा लागूऔषधको कारोबार तथा ओसारपसार गर्दै आएका भारतीय र नेपाली नागरिकमाथि निगरानी गर्ने क्रममा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।
लागूऔषध नियन्त्रण ब्युरोका अनुसार २०८३ कात्तिक १२ गते भारतको अररिया हुँदै मोरङको रतुवामाई नगरपालिका–६ तर्फ दुईवटा मोटरसाइकलमा आउँदै गरेका उनीहरूलाई प्रहरीले रोकेर चेकजाँच गर्न खोजेको थियो।
सो क्रममा भारतीय नागरिक दीपक कुमार बोसाकले आफूसँग रहेको पेस्तोल निकालेर प्रहरीमाथि फायर गर्न खोजेपछि प्रहरीले आत्मरक्षाका लागि पाँच राउण्ड हवाई फायर गरेको थियो। त्यसपछि पनि उनले पेस्तोल ताकिरहेपछि प्रहरीले दीपकको बायाँ खुट्टाको घुँडामुनि एक राउण्ड र अर्का भारतीय नागरिक पुन कुमार बोसाकको दाहिने खुट्टाको घुँडामुनि एक राउण्ड गोली प्रहार गरी नियन्त्रणमा लिएको जनाएको छ।
प्रहरीले खानतलासी गर्दा दीपक कुमार बोसाकको साथबाट ५०० ग्राम खैरो हेरोइन, पेस्तोल र एक राउण्ड गोली बरामद गरेको छ।
पक्राउ पर्नेमा भारतको अररिया जिल्ला, टेगना निवासी २२ वर्षीय दीपक कुमार बोसाक, भारतकै टेगना निवासी ४० वर्षीय पुन कुमार बोसाक र मोरङको रतुवामाई नगरपालिका–१ निवासी ३५ वर्षीय योगेन्द्र ठाकुर रहेका छन्।
गोली लागेर घाइते भएका दुई भारतीय नागरिकको रतुवामाई नगर अस्पताल, उर्लाबारीमा उपचार भइरहेको छ भने योगेन्द्र ठाकुरलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि इलाका प्रहरी कार्यालय सिजुवामा बुझाइएको ब्युरोले जनाएको छ।
प्रहरीले उनीहरूको साथबाट दुई थान मोटरसाइकल र तीन थान मोबाइलसमेत बरामद गरेको छ।



















