सप्तरी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत कोशी ब्यारेजको विकल्पका रूपमा कोशी नदीमा नयाँ पुल निर्माण गर्ने तयारी अघि बढाइएको छ । सप्तरीको कञ्चनपुरदेखि सुनसरीको राजाबाससम्म करिब तीन किलोमिटर लामो पुल निर्माणका लागि ४३ अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ ।

सडक विभाग आयोजना निर्देशनालयका निर्देशक चुडाराज ढकालका अनुसार एसियाली विकास बैंक (एडीबी) को सहयोगमा अघि बढाउन लागिएको यस परियोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) केही वर्षअघि नै तयार भइसकेको छ । सोही प्रतिवेदनका आधारमा निर्माण प्रक्रिया अघि बढाउने तयारी गरिएको हो ।

परियोजनाअन्तर्गत कोशी नदीमाथि तीन किलोमिटर लामो पुल निर्माण गर्नुका साथै ४३ किलोमिटर नयाँ सडकसमेत निर्माण गरिने योजना छ । उक्त पुल र सडक सञ्चालनमा आएपछि पूर्व–पश्चिम राजमार्गको दूरी करिब १४ किलोमिटर घट्ने अपेक्षा गरिएको छ ।

निर्देशक ढकालका अनुसार परियोजनाको प्राविधिक तथा प्रक्रियागत तयारी भइरहेको छ । तर, निर्माण क्षेत्र कोशीटप्पु वन्यजन्तु आरक्षसँग जोडिएकाले वातावरणीय प्रभाव मूल्याङ्कन, कानुनी स्वीकृति तथा अन्य आवश्यक प्रक्रिया पूरा गर्नुपर्नेछ ।

कोशी ब्यारेज पुरानो हुँदै गएको र त्यस क्षेत्रमा सवारीसाधनको चाप बढ्दै गएकाले वैकल्पिक पुल निर्माणलाई महत्त्वपूर्ण पूर्वाधार योजनाका रूपमा लिइएको छ । नयाँ पुल बनेपछि कोशी ब्यारेजमाथिको निर्भरता घट्नुका साथै पूर्व–पश्चिम राजमार्गमा आवागमन थप सहज हुने विश्वास गरिएको छ ।

आवश्यक वातावरणीय तथा कानुनी स्वीकृति प्राप्त भएपछि निर्माण प्रक्रिया अघि बढ्ने भएको हो।