बिजले पट्ट फुटेपछि

अस्तित्व परिवर्तन हुँदै 

नयाँ रुप धारणा गर्दै 

लहलह लहराउँदै 

दर्विलो खम्बाको 

सहाराबाट झाँगिन पुग्छ

स्वयम् आफूलाई 

शक्तिशाली ठान्दै 

गर्व गर्न थाल्छ 

मैले खम्बालाई 

मजबुत पारेको छु

म नै सर्वेसर्वा हुँ भन्ने 

आडम्बरमा पीपलपाते पात

न पुतलीलाई आश्रय दिन्छ

न त कोइलीलाई मन खोलेर

गीत गाउन सहयोग गर्छ

आफू ..आफू हुनुमा गर्व गर्दै 

शक्तिलाई उचो सम्झन्छ

अनि निस्वार्थ  सहारा बनेका

खम्बालाई अहंकारका अणुवमहरू

प्रहार गर्न थाल्छ

बिर्सियो छुटेका पाइला

घमण्डले बुद्धिमा

बिर्को लगाएर

विवेक शून्य भएपछि 

पिउँछ अमृतका सट्टा बिष

चिन्दैन सुन र पित्तल 

जान्दैन शिला र ढुङ्गा 

बुझ्दैन सूर्य  र चन्द्र 

हेर्दैन सही र गलत

अन्ध आवेगमा मान्छे 


अम्बिका खरेल उप्रेती 

विराटनगर -१२