विराटनगर । कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले एमालेका मन्त्रीहरू फेर्ने तयारी गरेको जानकारी सत्ता साझेदार दल कांग्रेसलाई दिएका छन् ।
कांग्रेसबाट मन्त्री बनेकाहरू विवादमा परेको र उनीहरूलाई फेर्ने तयारी भइरहेको चर्चा चलिरहँदा मुख्यमन्त्रीले एमालेकै मन्त्री फेर्ने तयारी गरेको बताएका हुन् ।
सत्ता साझेदार दल कांग्रेस कोशीका नेताहरूसँगको छलफलमा मुख्यमन्त्री कार्कीले यस्तो जानकारी दिएको कांग्रेस नेताहरूले बताएका छन् ।
‘म हाम्रै पार्टीका मन्त्रीहरू फेर्ने तयारीमा लागेको छु, तपाइँहरू के गर्नुहुन्छ त्यो कांग्रेसको कुरा हो’ मुख्यमन्त्री कार्कीले कांग्रेस नेताहरूसँग भनेका थिए।म यसको तयारी छिट्टै पूरा गर्दैछु ।’
कांग्रेस नेताहरूले दिएको जानकारी अनुसार मुख्यमन्त्रीले एमालेकै केही मन्त्रीहरूको कार्यसम्पादन कमजोर रहेको भन्दै गुनासो गरेका थिए ।
कोशीमा नेकपा एमाले र नेपाली कांग्रेसले सत्ता सहयात्रा थालेको वर्ष दिन पुग्नै लाग्दा मन्त्रीहरू फेर्ने कसरत सुरू भएको चर्चा चलिरहेको छ।र त्यो पूर्व निर्णयमा आधारित भएको दुवै दलका नेता र सांसदहरूले बताउँछन् ।
‘वर्ष दिन पूरा भयो, साथीहरूले बजेट पनि ल्याइहाले । अब फेर्नुपर्छ भन्ने कुरा पार्टीभित्र उठिसकेको छ।
एमालेबाट मन्त्री बनेकाहरू प्रायले वर्ष दिन पूरा गरिसकेको र कांग्रेसका मन्त्रीहरूको पनि आउँदो भदौमा १३ महिना पूरा हुन लागेका बेला मन्त्रीहरू फेरिने चर्चा चुलिएको हो।
कांग्रेस संसदीय दलका उपनेता हिमाल कार्कीलाई यसबारे सोध्दा उनले चर्चा भन्दा पनि गत वर्ष संसदीय दलको बैठकमा नेताहरूले १३ महिनापछि मन्त्री फेरिने बताएको र अहिले सोही कुराका आधारमा अनुमानहरू भएको हुनसक्ने बताए ।
त्यसो त गत वर्ष भदौमा हिक्मतकुमार कार्की नेतृत्वको कोशी प्रदेश सरकारमा सामेल हुनुअघि आयोजित नेपाली कांग्रेस संसदीय दलको बैठकमा दल नेता उद्धव थापाले भनेका थिए। ‘केन्द्रको निर्देशन अनुसार अहिले जाने मन्त्रीहरूको कार्यकाल १३ महिनाको हुनेछ । १३ महिना पूरा भएपछि अरू नयाँ साथीहरूले मन्त्रीको जिम्मेवारी पाउने छन्।
कोशीमा कांग्रेसबाट अहिले भूपेन्द्र राईले भौतिक पूर्वाधार र स्वास्थ्य मन्त्रालय सम्हालेका छन् । सदानन्द मण्डलले वन वातावरण र पर्यटन अनि खगेनसिं हाङ्गामले उद्योग, कृषि तथा सहकारी मन्त्रालयको जिम्मा पाएका छन् ।




















