विराटनगर।कास्की,गण्डकी प्रदेशमा घरेलु मदिरा उत्पादन गर्ने उद्योग स्थापना र दर्ता गर्ने बाटो खोल्ने विधेयक संसद‍्बाट पारित भएको छ ।

प्रदेश सभाबाट सोमबार गण्डकी प्रदेश औद्योगिक व्यवसाय ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक पारित भएसँगै घरेलु मदिरा उत्पादन गर्ने उद्योग दर्ता गर्ने कानुनी आधार तयार भएको हो ।

संशोधन विधेयकमार्फत मूल ऐनको दफा ४ को उपदफा ३ पछि प्रतिबन्धात्मक वाक्यांश थप गरिएको छ, जसले घरेलु, स्थानीय वा रैथाने मदिरा उत्पादन गर्ने उद्योग दर्तालाई सहज बनाएको छ । ‘तर स्थानीय कच्चा पदार्थमा आधारित घरेलु वा स्थानीय वा रैथाने मदिरा उत्पादन गर्ने उद्योग दर्ता गर्न यस उपदफाले बाधा पुर्‍याएको मानिने छैन,’ उक्त वाक्यांशमा भनिएको छ ।

सरकारले ०८१ माघ १४ मा संशोधन विधेयक प्रदेश सभामा दर्ता गरेको थियो । सरकारले दर्ता गरेको विधेयकमा यो प्रतिबन्धात्मक वाक्यांश समावेश थिएन । सभामा सामान्य छलफलपछि विधेयकलाई गत वर्ष फागुन २२ मा अर्थ तथा विकास समितिमा पठाइएको थियो। समितिमा दफावार छलफलको क्रममा घरेलु मदिरालाई वैधानिकता दिन सरकारले विधेयक ल्याएको र त्यसका लागि उद्योग दर्ताको व्यवस्था नभएको विषय उठेको थियो । यसपछि समितिले अन्तिम प्रतिवेदनमा दर्तामा बाधा नपर्ने वाक्य थप गरेर घरेलु मदिरा उद्योग दर्ताको कानुनी आधार तयार पारेको हो ।