काठमाडौ।मिति २०८२ असार २१ गते साहित्य सदन नेपालद्वारा गोपालप्रसाद रिमालको १०८ अैाँ जन्मजयन्तीका सन्दर्भमा आयोजित कार्यक्रममा कवि, गायक एवं निबन्धकार मेघराज शर्मा मञ्जुललाई रिमाल पुरस्कारद्वारा सम्मान  गरिएको छ। 

सदनको आफ्नै प्रेक्षालयमा सदनका अध्यक्ष प्रा.डा.हेमनाथ पौडेलका अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा कवि मञ्जुललाई प्रमुख अतिथि मा.शिक्षा, विज्ञान एवं प्रविधि मन्त्री साहित्यकार रघुजी पन्तले सम्मान पत्र, विशिष्ट अतिथि प्रतिनिधि सभा सदस्य मा.सन्तोषकुमार चालिसेले दोसल्ला, पूर्व कुलपति वरिष्ठ साहित्यकार गङ्गाप्रसाद उप्रेतीले फूलमाला, सभाध्यक्ष डा.हेमनाथ पैाडेलले रु ३० हजार नगद राशि प्रदान गरेर सम्मान गरेका थिए । कार्यक्रममा पुरस्कृत व्यक्तित्व मञ्जुलकी जीवनसँगनी सुस्मिता नेपाललाई पूर्व  मन्त्री शान्ता मानवीले फूलमाला लगाएर सम्मान गरिन। 

कार्यक्रममा प्रमुख अतिथि पन्तले मेघराज मन्जुलसँग आफूले लामो समय सहकार्य गरेको  उनले नेपाली गीतसङ्गीत र साहित्यका माध्यमबाट नेपाली समाजमा जागरण ल्याउने कार्यमा उल्लेखनीय योगदान गरेको बताउँदै  मञ्जुल जस्तो प्रतिभा छनोट गरेर रिमालका नामको पुरस्कार प्रदान गरेकोमा साहित्य सदन नेपाललाई धन्यवाद दिदै पुरस्कृत व्यक्तित्व मञ्जुललाई बधाई दिए। विशेष अतिथि माननीय सन्तोषकुमार चालिसेले साहित्यकार, कलाकार राज्यका मार्गदर्शक हुन् । उनीहरूको समाज परिवर्तनमा महत्त्वपूर्ण भूमिका रहेको हुन्छ त्यसैले राज्यले स्रष्टाहरूलाई सम्मान गर्न जान्नुपर्छ भन्दै साहित्य सदन नेपालले स्रष्टाहरूलाई सम्मान गर्नुका साथै कलासाहित्य र संस्कृतिको उन्नयन र विकासका लागि विविध कार्यक्रमका माध्यमबाट जुन योगदान गरिरहेको छ त्यसको म सराहना गर्छु भने।साहित्यका क्षेत्रमा आफ्नो सदैव सहयोग रहिरहने बताए। 

कार्यक्रममा बोल्दै अर्का विशेष अतिथि तथा साहित्य सदन नेपालका संस्थापक सदस्य पूर्व कुलपति गङ्गाप्राद उप्रेतीले पुरस्कृत व्यक्तित्व मञ्जुलको वैचारिक योगदानका बारेमा प्रकाश पार्दै साहित्य सदनको वर्तमान नेतृत्वले गरिरहेका गतिविधिप्रति प्रशन्नता व्यक्त गरे । अतिथि पूर्व मन्त्री शान्ता मानवी, रिमालका छोरा मदन रिमाल र सदनका कोषाध्यक्ष तथा व्यक्तित्व छनोट समितिका संयोजक वसन्त रिजालले बधाई मन्तव्य राखेका थिए। 

कार्यक्रममा रिमालका बारेमा सदनका उपाध्यक्ष कवि मित्रलाल पंज्ञानीले र पुरस्कृत व्यक्तित्व मञ्जुलको समग्र योगदानका बारेमा विशेष अतिथि प्रा.केशव सुवेदीले विस्तृत प्रकाश पारे।

सदनका सदस्य तथा व्यक्तित्व छनोट समितिका सदस्य पूर्व राजदूत रमेश खनालले विषय प्रवेश र स्वागत मन्तव्य राख्नुभएको सो कार्यक्रममा सदनका सदस्यहरू त्रिलोचन आचार्य र सुनीता बुढाथोकीले रिमालका कविता वाचन गरे। सागर न्यौपाने र साथीहरूले रिमालको 'जङ्गी निसान' गीत गायन गरेका थिए। सदनका सचिव प्रह्लाद पोख्रेलले सहजीकरण गरे। उक्त कार्यक्रमका अन्त्यमा सभाध्यक्ष प्रा.पौडेलले  साहित्य सदन नेपालका संस्थापकहरू केदारमान व्यथित, रमेश विकल, अमिर थापा, गङ्गाप्रसाद उप्रेती तथा पूर्णप्रकाश  नेपाल यात्रीहरुको योगदानको स्मरण गर्दै उपस्थित सबैलाई धन्यवाद प्रदान गरी सभा समापन गरेका थिए। कार्यक्रममा प्राज्ञिक, साहित्यिक एवं पारिवारिक क्षेत्रका गरी उल्लेख्य व्यक्तित्वहरूको उपस्थिति थियो ।