वातावरण 

भूगोल 

प्रकृति 

गाउँ

सहर 

घरछिमेक

बजार

देशविदेश 

भान्सा 

अस्पताल

 विद्यालय 

जङ्गल 

नदीनाला

जता हेर्‍यो उतै 

कहालीलाग्दो छ

परिस्थिति 

अवस्था 

चिन्ताजनक छ


भूगोलमा 

पहिरो छ

बाढी छ 

दोहन छ


प्रकृतिमाथि 

मान्छेको अतिक्रमण छ

मौसम नियमित छैन 

हिउंँद,वर्षाजस्तो

र वर्षा,हिउँदजस्तो छ

 

गाउँ

सहर 

र सहर 

गाउंँजस्ता छन् 

भोगविलास 

आलस्य बढेको छ

बस्ती खाली छन्

घरआँगन रित्ता छन् 

खेतबारी बाँझै छन् 

बाँंदर

बाघभालुको

आतङ्क छ


भान्साबाट 

दाउरा हटेका छन् 

ग्याँस चुल्हा बल्छ्न् अचेल 

भातको सट्टा 

चाउचाउ 

मम 

सागको सट्टा 

विकासे कुखुरा 

र अन्डा पाक्छ्न् अचेल 


अस्पताल 

नाफामुखी छन् 

विद्यालय 

नाफाका लागि छन् 

बजार विदेशी छ 

भेषभूषा अनौठा छन् 

मठमन्दिर

लागुऔषधका केन्द्र छन् 


छिमेकीसँग

बोलचाल छैन

नातासम्बन्ध हराए

छोराछोरी 

विदेशमा 

बुढा बाउआमा एक्लै छन् 

सामाजिक सद्भाव 

शून्यमा झरेको छ


सदनदेखि 

सडकसम्म 

चौतर्फी 

हल्ला छ

फाटो छ

निराशा छ

महङ्गी छ

असन्तुष्टि छ

भ्रष्टाचार छ

ठगी छ

कालोबजारी छ

चिच्याहट छ

कतै सुख्खा छ

कतै बाढी छ


अब 

वातावरण छैन

वातावरण शब्दको

कुनै अर्थ  छैन

यो शब्द 

बेकामे भइसकेको छ

यसको अर्थ 

र महत्त्व 

कसैले बुझ्दैन 

तसर्थ 

वातावरण शब्द 

शब्दकोशबाट

हटाउनु पर्छ 

र अर्थ बुझ्नेहरू

ढुक्क निदाउनु पर्छ ।।


 • देवी पन्थी 

विराटनगर ११