तिमी
सहि थियौ साध्या!
यदी तिम्रा-मेरा,यस्का-उस्का
हरेक हरेक मौनताहरूको
अर्थ,प्रयोजन र परिभाषा
केवल बिमती मात्र हो भने
सतप्रतिसत सहि थियो तिमी
तिमीले टेकेको शुन्यबादबाट
अंक गणितको योगफल नियाल्दा
तिमी सहि थियौ
भलै ज्यामीतीको बक्ररेखाले
बिपरित परिणाम देखाए पनि/नदेखाए पनि..
हो! तिमी सही थियौ
मैले नजानेकै हो
मेरो बोलीमा रस मिसाउन,रंग भर्न
चिनी र नौनीको स्वादले जिभ्रो घोल्न
जे बोले अन्तस्करणको आवाज बोले
जे बोलिन त्यो पनि अन्तस्करणबाटै बोलिन
यसैले त भन्छु
तिमीले जे बुझ्यौ त्यो सत्य थियो
तिमीले जे बुझिनौ त्यो सत्य भए पनि/नभए पनि
पटमूर्ख म
प्रेम गर्न नजानेकै हो मैले।
सायद
अलि धेरै सोचे या सोच्नै जानिन
सोचे,आमालाई आई लभ यु भनिरहनु पर्छ र ?
सोचिन,तिमी आमा होइन,प्रेमिका हौ
हो! सोचिन
आमाले झै मेरा मौन ओठहरूको आवाज
मेरो अन्तरमनको खुसी
अन्तर आत्माको दुखाई
नबुझ्न पनि सक्छौ तिमी.....!
मेरो आमाको झै विशाल हृदय
नहुन पनि सक्छ तिम्रो....!
मैले सोचिन
यो समय बिज्ञापनको हो
मैले प्रेमको प्रचार प्रसार गरिन कहिल्यै
मलाई थाहा थियो
तिमीलाई शहरका होर्डिङबोर्डहरूमा झुण्डिन मन पर्छ
मैले बिग्रीदी वातावरण,शहरको धुलो मैलो सम्झे
पटमूर्ख म
प्रेम गर्न नजानेकै हो मैले।
लाग्न त
यस्तो लाग्थ्यो,यो मनमा......
यी आँखामा.....
बाटोमा हिडीरहेकी हरेक हरेक
स्त्रीको अनुहार तिम्रो जस्तै लाग्थ्यो....
ती होर्डिङबोर्डका सारा तस्बिर तिमै हुन जस्तो लाग्थ्यो...
हरेक सिनेमाको नायिका तिमी नै हौ
हरेक गितको गायिका तिमी नै हौ जस्तो लाग्थ्यो
लाग्थ्यो......
तिमी बाहेक अर्को मान्छे नै छैन यो दुनियाँमा
लाग्थ्यो!
यी पैतलाले पहाडका थुम्काथुम्की नाप्दै गर्दा
तिमी आएर तान्यौ पछाडीबाट
कतै,ऐंसेलुघारीमा कमिजको कठालो अल्झिदा.....!
लाग्थ्यो!
तिम्रै पैतलाको डोव कुल्चिए क्यार !
बाटोमाथीका हजारौ डोवहरूसङ्ग खुट्रा ठोक्किदा पनि
लाग्थ्यो!
त्यो पर्खिने तिमी नै हो
देउरालीको चौतारीमा
कोही अर्कैले,अर्कै,अर्कैलाई पर्खिरहेको देख्दा पनि
लाग्थ्यो!
मेरो जस्तो प्रेम कस्ले गर्यो होला र ?
मेरो जति प्रेम कस्ले गर्छ होला र ?
पातेचरीले गुंड फेरि सक्दा पनि.
पटमुर्ख म
प्रेम गर्न नजाकै हो मैले।
प्रेम गर्न नजानेकै हो मैले।।
एमपी पाण्डे
बाजपा ३,अछाम




















