विराटनगर । कोशी प्रदेश सभाको आइतबार बसेको प्रदेशसभा बैठकमा सत्ता पक्षका केही सांसदहरूले विपक्षीको प्रस्तावको पक्षमा समर्थन जनाएका छन् । साढे दुई बर्षको संसदीय अभ्यास गरिसकेका सांसदहरूले विपक्षीको कुनै महत्वपूर्ण प्रस्तावमा जानेर हात उठाएर समर्थन जनाएका भने होइनन् । 

सत्ता पक्षका सांसदले प्रदेश सभामा कस्तो प्रस्ताव प्रस्तुत भएको हो भन्ने कुरा नै ख्याल नगर्दा प्रस्तावमाथिको मत विभाजनमा विपक्षीको प्रस्तावमा समर्थन जनाउन पुगेका हुन् । 

उनीहरू हिक्मतकुमार कार्की नेतृत्वको वर्तमान सरकारकै दुई राज्यमन्त्रीहरू सिर्जना राई र भूमि राजवंशीदेखि पूर्वमुख्यमन्त्री समेत भइसकेका नेपाली कांग्रेस संसदीय दलका नेता उद्वव थापा र कांग्रेसकै प्रमुख सचेतक गोपाल तामाङले पनि विपक्षीको प्रस्तावमा समर्थन जनाएका थिए।

आफ्नै मन्त्रीले विपक्षीको प्रस्तावमाथि भएको मत विभाजनमा समर्थन जनाएपछि मुख्यमन्त्री कार्कीले भने हतार हतार सम्झाउँदै हात तल झार्न आग्रह गरेका थिए । 

आइतबार प्रदेश सरकारले प्रदेशसभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा विपक्षी दलका दुई सांसद गोम्बु शेर्पा र खिनु लङ्वा लिम्बूले संशोधन प्रस्ताव दर्ता गराएका थिए । मुख्यमन्त्री कार्कीले नीति तथा कार्यक्रममाथि उठेका विषयमाथि जवाफ दिइसकेपछि त्यसमा परेका संशोधनउपर छलफल गरिएको थियो ।

बैठकमा संशोधन प्रस्तावका बारेमा माओवादीका सांसद शेर्पाले कुरा राखे । उनको प्रस्तावका केही संशोधन सरकारका तर्फबाट मुख्यमन्त्री कार्कीले स्वीकार गरे । 

माओवादीका सांसद शेर्पाले मुख्यमन्त्रीको जवाफ चित्तबुझ्दो नभएको भन्दै संशोधन फिर्ता नलिने बताए ।

 सरकारले पनि संशोधन प्रस्तावका सबै विषय सरकारबाट स्वीकार नगर्ने भएपछि सभामुख बिष्टले उक्त प्रस्तावलाई निर्णयार्थ मतविभाजनमा लगेका थिए ।

माननीय सदस्यज्यूहरू, उक्त संशोधन प्रस्तावको पक्षमा हुने माननीय सदस्यहरूले हुन्छ भन्नुहोला र, उक्त संशोधन प्रस्तावको विपक्षमा हुने माननीय सदस्यहरूले हुन्न भन्नुहोला’ सभामुख बिष्टले यसरी प्रस्तावलाई मतविभाजनमा लैजाँदा मन्त्री र सांसदहरूले नै संशोधन प्रस्तावमा ‘हुन्छ’ भन्ने पक्षमा हात उठाएर समर्थन जनाएका थिए ।

मुख्यमन्त्री कार्कीले हतारिंदै उनीहरूलाई हात तल झार्न आग्रह गरे । त्यसपछि ‘हुन्न’ भन्ने प्रस्तावमा पनि उनीहरूले समर्थन जनाएर मतविभाजनमा सहभागी बनेका थिए।