विराटनगर । उद्योग संगठन मोरङले दुई दिने ‘सीप उत्सव २०८२’ को आयोजना गर्ने भएको छ । प्रदेशभित्रको प्राविधिक शिक्षा, सीप विकास, रोजगारी र उद्योगबीचको सहकार्यलाई सुदृढ बनाउने उद्देश्यसहित संगठनले इन्स्योर हेल्भेटासको सहयोगमा जेठ १० र ११ गते संगठनकै कार्यालयको प्राङ्गणमा उत्सव गर्न लागेको जानकारी दिएका छन् ।
सीप उत्सवबारे जानकारी दिन बिहीबार आयोजित पत्रकार सम्मेलनमा संगठनका अध्यक्ष राकेश सुरानाले पहिलो पटक आयोजना गरेको उत्सवले उद्योग व्यवसाय क्षेत्रमा आवश्यक दक्ष जनशक्ति र हाल उत्पादन भइरहेका जनशक्तिबीचको समन्वय बृद्धि गर्न महत्वपूर्ण सहयोग पुर्याउने बताएका हुन् ।
उत्सवकै अवसरमा सूचना प्रविधि, होटल व्यवस्थापन, अटोमोबाइल विधामा छनौट भएका प्रशिक्षार्थीबीच अन्तिम सीप प्रतिस्पर्धा आयोजना गरिएको सुरानाले जानकारी दिए ।
सीप उत्सवले रोजगारीको अवसर खोजिरहेका युवाहरूदेखि उद्योग र तालिमप्रदायक संस्थाहरूसम्मका सरोकारवालाबीच समन्वय स्थापित गराउने र उद्योगको माग अनुसारका सीपयुक्त जनशक्ति उत्पादनमा सहयोग पुग्ने जनाइएको छ ।
सीप प्रतिपर्धामा झापा, मोरङ र सुनसरी जिल्लाका प्राविधिक शिक्षालयहरूबाट छनोट गरिएका सूचना प्रविधितर्फका १०, अटोमोबाइलका चार र होटल व्यवस्थापनमा चार गरी १८ जना प्रशिक्षार्थीबीच प्रतिस्पर्धा हुने जनाइएको छ ।




















