सल्यान।बुधबार बिहान परेको असिनापानीले सल्यानको कपुरकोट गाउँपालिका–१, २, ५ का किसानले झन्डै एक हजार रोपनीमा व्यावसायिक रूपमा लगाएको तरकारीमा क्षति पुर्याएको छ । असिनापानीले सारपानी, गर्पा र सल्लामका २ सय ५० किसान प्रभावित भएका छन् ।
असिनाले आफ्नो बारीमा फल्न थालेको गोलभेंडा, भेडेखुर्सानी, सिमी, बोडीलगायत तरकारीमा क्षति पुर्याएको सारपानीका किसान उजरसिंह पुनले बताएका छन् । ‘बिउ, बेर्ना, मल, मजदुर खर्च गरी तरकारी लगाउन एक लाखभन्दा बढी खर्च लागेको थियो । अहिले फल्ने बेलामा एउटा बोट गतिलो छैन,’ उनले भने । कपुरकोट,१, का वडाध्यक्ष बालाराम खड्काले आफ्नो वडामा ८०/९० घर किसान पूर्ण रूपमा प्रभावित भएको बताए । तरकारीका बोट सखाप हुँदा वडाभित्र २५–३० लाख रुपैयाँको क्षति भएको अनुमान गरिएको उनले जानकारी दिए ।
कपुरकोटका ४ हजारभन्दा बढी किसानले बेमौसमी तरकारी खेती गर्दै आएका छन् । उनीहरूले वार्षिक ४० करोड बढीको तरकारी निकासी गर्दै आएको पालिकाले जनाएको छ । कपुरकोट गाउँपालिका उपाध्यक्ष प्रकाश भण्डारीले स्थलगत अध्ययनपछि क्षति विवरण सार्वजनिक गरिने र राहत उपलब्ध गराउने बताएका छन्।




















