विराटनगर ।प्रेस चौतारी मोरङको आयोजनामा तीनदिने डिजिटल मिडिया र एआई सम्बन्धी तालिम विराटनगरमा सम्पन्न भएको छ।

विराटनगर महानगरपालिकाको सहयोगमा जेठ १ गतेदेखि ३ गतेसम्म सञ्चालन भएको तालिममा जिल्लाका पत्रकार, तथा संचारकर्मीको उपस्थिति रहेको थियो।भने तिनदिने तालिमको प्रमाणपत्र प्रमुख अतिथि शिल्पा निराला कार्कीको हातबाट गरिएको थियो।

तालिमको समापन कार्यक्रममा प्रमुख अतिथि विराटनगर महानगरपालिकाकी उपप्रमुख शिल्पा निराला कार्कीले पत्रकारले आफ्नो क्षमता विकाससँगै सञ्चारकर्मीहरूलाई आवश्यक ज्ञान र सीप प्रदान गर्न यस्तो तालिम समय सान्दर्भिक र आवश्यक रहेको बताइन्। महानगरपालिकाले आवश्यकताको आधारमा यस्ता तालिमहरू नियमितरूपमा सञ्चालन गर्न तयार छ । उनले भनिन्, पत्रकारिता तथ्य र प्रमाणमा आधारित र गल्ती औँल्याउने पक्षपनि जिम्मेवार हुनुपर्छ।

प्रेस चौतारी नेपाल कोशी प्रदेश अध्यक्ष सुमन पुरी, प्रेस चौतारी मोरङका संस्थापक अध्यक्ष दिपेन न्यौपाने, सञ्चारिका समूह कोशीकी महासचिव जुनु भट्टराई लगायतले तालिमको आवश्यकता र प्रभावबारे धारणा राखेका थिए।

प्रशिक्षार्थी रेजिना भट्टराईले एआईसम्बन्धी विषयवस्तुहरू जीवन र पेशासँग प्रत्यक्ष रूपमा जोडिएको अनुभव सुनाइन् । अर्का प्रशिक्षार्थी तेजेन्द्र भण्डारीले डिजिटल मिडियासम्बन्धी सिकाइहरू, फोटो, भिडियो तथा समाचार निर्माण सीप, अत्यन्तै उपयोगी र व्यावहारिक भएको बताए।

कार्यक्रमको अध्यक्षता प्रेस चौतारी मोरङका अध्यक्ष चिना थापाले गरेकी थिइन् । उनले तालिममार्फत पत्रकारहरूलाई डिजिटल प्लेटफर्म र नयाँ प्रविधिमा अपडेट गराउने लक्ष्य अनुसारको तालिम दिइएको बताइन् ।