विराटनगर।महेन्द्र मोरङ क्याम्पसको पुरानो एक कक्षा कोठाको ढलान छत खसेको सिमेन्टको टुक्रा  र रोडाले एक कर्मचारी घाइते भएका छन्।  क्याम्पसको मूल भवनमा रहेको कक्षा नम्बर ६३ मा परीक्षा चलिरहेको समयमा परीक्षा निरीक्षणमा बसेका पूर्व कर्मचारी आनन्द चौधरी घाइते भएका हुन्। टाउकोमा चोट लागेपछि उनको स्थानीय क्लिनिकमा उपचारपश्चात् घर फर्किएका छन्।

क्याम्पसको जीर्ण भवनको कक्षा नम्बर ६३ मा परीक्षा चलिरहेको बेला अचानक छतको सिलिङबाट सिमेन्टको ठूलो टुक्रा खसेर बुधबार दिउँसो निरीक्षक चौधरीको टाउकोमा लागेको थियो। घाइते चौधरीलाई तत्काल अस्पताल पुऱ्याइएको थियो। घटनापछि जोखिमपूर्ण कक्षाकोठालाई तुरुन्तै ताला लगाइएको छ।वि.सं. २०१५ सालमा विज्ञान विषयको अध्ययनका लागि निर्माण गरिएको महेन्द्र मोरङ क्याम्पसको मुल भवनमा २०१९ साल कार्तिक ३० गतेदेखि विज्ञानको पढाइ सुरु भएको हो। २०७२ सालको गोर्खा भूकम्पले क्षति पुऱ्याएपछि यसलाई ‘जोखिमपूर्ण’ घोषणा गरेपनि कक्षा सञ्चालन भइरहेको छ।