विराटनगर।नेपाल उद्योग परिसंघ कोशी प्रदेश समिति विराटनगरको युवा उद्यमी मञ्चले यही वैशाख २० गते शनिवार पहिलो कोशी आइटी सम्मेलनको आयोजना गर्ने  भएको छ ।

नेपाल उद्योग परिसंघ कोशी प्रदेश समिति विराटनगरको युवा उद्यमी मञ्चले बुधवार विराटनगरमा पत्रकार सम्मेलन गरेर वैशाख २० गते शनिवार मोरङको बुढिगंगा गाउँपालिकाको टंकी स्थित विराट मेडिकल कलेजमा एक दिने कोशी आइटी सम्मेलन आयोजना गर्न लागेको जानकारी दिएका छन् ।

युवा उद्यमी मञ्चका सभापति मुनन रिजालले विराटनगर महानगरपालिका सहित मोरङ र सुनसरीको विभिन्न कलेजमा आइटी विषय अध्ययन गरिरहेका ५ सय भन्दा बढी विद्यार्थी आइटी सम्मेलनमा सहभागी हुने जानकारी दिए। युवा उद्यमी मञ्च कोशीले सुशान्त प्रधानलाई कोशी आइटी सम्मेलनको संयोजकको जिम्मेवारी दिएको छ ।

नेपाल उद्योग परिसंघ कोशी प्रदेश समितिका अध्यक्ष पवनकुमार सारडाले विदेश पलायन रोक्न र शिक्षित युवालाई नेपालको आइटी क्षेत्रमा रोजगार उपलब्ध गराउने उद्देश्यका साथ निजी क्षेत्रले आइटी सम्मेलनको आयोजना गर्न लागेको हो। पत्रकार सम्मेलनमा अध्यक्ष सारडाले भनेः शिक्षित युवा नेपालमा कृषि पेशा गर्न चाहँदैनन् ।

उनीहरूको एउटै उद्देश्य छ । वैदेशिक रोजगारका लागि विदेश पलायन । यस्तो अवस्थामा शिक्षित युवालाई नेपालको आइटी क्षेत्रमा रोजगार उपलब्ध गराउने गरी निजी क्षेत्रले आइटी सम्मेलनको आयोजना गर्न लागेको बताएका छन्।