विराटनगर।कोशी प्रदेश सरकारले सुरु गरेको ‘कोशी पर्यटन वर्ष २०८२’ को अबसरमा भारतीय पर्यटकलाई लक्षित गरी विदेशी सवारी साधनको अस्थायी रुट इजाजत पत्र तथा सुरक्षा जाँच कार्ड स्टिकर विराटनगरस्थित रानी नाकाबाट शुक्रबार शुभारम्भ गरिएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आयोजना गरेको सुरक्षा जाँच स्टिकर शुभारम्भ समारोहमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले भारतीय पर्यटक बोकेको सवारीमा उक्त स्टिकर टाँसेर शुभारम्भ गरेको हो ।
सुरक्षा जाँच स्टिकर कोशी प्रदेशस्थित सुनसरीको भण्टाबारी, मोरङको रानी, झापाको काँकडभिट्टा र इलामको पशुपति नाकाबाट भारतीय पर्यटक आउने सवारीमा टाँस्ने व्यवस्था प्रदेश सरकारले गरेको हो । भारतीय पर्यटक आउने सवारी साधनलाई प्रहरीले अनावश्यक जाँचको नाममा दुःख दिँदै आएको गुनासो आएको छ। भारतीय पर्यटकलाई सुबिधायुक्त र सुरक्षित तबरले कोशी प्रदेशमा आतिथ्यता प्रदान गर्न स्टिकरको व्यवस्था गरिएको मुख्यमन्त्री कार्कीले बताएका छन् ।
सुरक्षा जाँच स्टिकरको शुभारम्भसँगै भारतीय पर्यटकलाई बिना झन्झट सुरक्षित वातावरणमा कोशी प्रदेशको पर्यटकीय गन्तव्य घुम्ने अवसर प्राप्त गर्न प्रदेश सरकारले व्यवस्था गरेको छ । कोशी सरकारले बुधबार तेह्रथुमस्थित लालिगुराँसको राजधानी बसन्तपुरमा पर्यटन वर्ष २०८२ को शुभारम्भ गरिसकेको छ । त्यसैको तयारी स्वरुप सुरक्षा जाँच स्टिकर भारतीय सवारी साधनमा टाँस्न सुरु गरिएको हो । तत्काललाई हस्तलिखित स्टिकरको व्यवस्था गरेर शुभारम्भ गरिएको र यसलाई चाँडै व्यवस्थित गरेर क्यूआर कोडसहितको स्टिकरको व्यवस्था गर्ने उनले बताएका थिए।
पर्यटन, वन तथा वातावरणमन्त्री सदानन्द मण्डलले सरकारले सुरक्षा जाँच स्टिकर लागु गरेको चार वटै नाकामा भारतीय पर्यटकको लागि अस्थायी रुट इजाजत पत्र र सुरक्षा जाँच सेवा एकिकृत रुपमा प्रदान गर्ने व्यवस्थाले भारतीय पर्यटकलाई सहज हुने विश्वास व्यक्त गरेका थिए । उनले पर्यटन वर्ष २०८२ पर्यटकलाई सहज, सुरक्षित र शान्तिपूर्वक पर्यटकीय गन्तव्यमा रमाउने आधार तयार गर्दै बढी भन्दाबढी पर्यटक भित्र्याउने लक्ष्य रहेको बताए।




















