लेनदेन दुईमा मात्र हुँदैनन् साधना भए
खुला ढोका हुँदा सारा पस्दछन् कामना भए - १
यहीँ छन् भ्रमको खेती शिक्षार्थी गुरु बुझ्दछन्
गुमेका बाहिरी दृष्टि भित्री छन् कल्पना भए - २
भूगोल बाच्दछन् आफू नेतृत्व सिपको अघि
निद्रा प्रकृति उस्तै हुन् वयको सम्झना भए -३
यात्रा छ सत्यको बाटो कुमाले पाठ चिन्नु छ
सिल्पीको हातमा मट्टी हुँ नौलो व्यञ्जना भए -४
हरेक कर्मको सामू पूर्व कर्मको हात छ
लयको सिर्जना हुन्छ तारमा मूर्छना भए - ५
सञ्जाल जाल हो एक पारदर्शी छ बस्त्रझैँ
ठिकवेठिक छुट्टिन्न जीर्ण त्यो तर्कना भए -६
कसैको नुन खादैमा विवेक नलगोस् उतै
उच्चता हुनुको गर्व बाँच्दछन् चाहना भए -७
पानीले टाकुरा भेट्न सजिलो छ जताततै
आचारसहिँता नीति इच्छाको पालना भए -८
शाखामा मूलले हेर्न सक्दैन, मूल होइन
व्यवस्था बलियो हुन्छ दण्ड वा यातना भए -९
ठुला होइन जो व्यक्ति पढी असल बन्नु छ
सत्यले सत्य छोड्नेछ ठुलाका बन्दना भए - १०
नदी भट्टराई: छन्द - अनुष्टुप
सूर्योदय नगरपालिका, फिक्कल इलाम




















