म बाहिर
जस्तो छु
भित्र पनि
त्यस्तै हुन चाहन्छु
तर सरकार
मलाई त्यस्तो हुन दिँदैन
ऊ निरङ्कुश छ
दमन गर्छ
अत्याचार गर्छ
विभेद गर्छ
आफू
र आफ्नाको
पक्ष लिन्छ
एकातिर
सधैँ उज्यालो छ
अर्कोतर्फ
सधैँ अँध्यारो छ
म भित्र
र बाहिर
देब्रे
र दाहिने
समान उज्यालोको
पक्षमा छु
तर ऊ
लठ्ठी हानेर
गोली पड्काएर भए पनि
आफू भएतिर
मात्र उज्यालो बनाउन
उज्यालो राखिरहन चाहन्छ
त्यसैले ऊ
बाहिर जस्तो छ
भित्र त्यस्तो छैन
आज
सुन्तलाको स्वाद
सुन्तलाको जस्तो छैन
आज
खीरको स्वाद
खीरको जस्तो छैन
शिक्षक
शिक्षकजस्तो
विद्यार्थी
विद्यार्थी जस्तो छैन
घाम
घामजस्तो
रुख
रुखजस्तो
हँसिया
हँसियाजस्तो
हथौड़ा
हथौड़ाजस्तो छैन
घाममा प्रदुषण
र कालो बादल छ
रुखका पातमा
हरियाली छैन
हँसिया
खिया लागेर
भुत्ते छ
हथौड़ामा
रत्तिभर दम छैन
आज कोही पनि
केही पनि
आफूजस्तो छैन
आमा पनि
आमाजस्ती छैनन्
श्रीमती पनि
श्रीमतीजस्ता छैनन्
त्यसैले
सायद
म पनि
मजस्तो
छैन कि??
• देवी पन्थी
विराटनगर ;११




















