विराटनगर, २ चैत , कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले दिगो विकासका लागि पूर्वाधार नीति आवश्यक रहेको बताएका छन्। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजित पूर्वाधार नीति तर्जुमा कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले नीति बनाएर काम गर्दा योजना आयोगको आवधिक योजना र सरकारका वार्षिक कार्यक्रमसम्म तारतम्य मिल्ने बताउँदै यसले विकासलाई सही ढङ्गले अगाडि बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् । हाम्रा आवधिक योजना र नीतिहरु एकातिर सरकारका वार्षिक नीति तथा कार्यक्रम अर्कोतिर हुने परिपाटी मिल्न नसकेकाले यसलाई व्यवस्थित गर्न आवश्यक बताए।
जलवायु परिवर्तनको असरलाई मध्यनजर गर्दै विकास निर्माण नीति बनाएर अघि बढ्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै जलवायु परिवर्तनलाई ख्याल नगर्दा विकास निर्माणले विपत्ति निम्त्याएको बताएका हुन् । विपत्ति तथा जलवायु परिवर्तनको जोखिमलाई आँकलन गरेर नीति निर्माण गर्नुपर्नेमा जोड दिँदै नीति सही ढङ्गले लागू गर्न सकिए मात्रै विकास योजना सफल हुने धारणा व्यक्त गरेका छन्। सडक र पुल जस्ता भौतिक पूर्वाधारहरू निर्माण गरेलगत्तै भत्किने अवस्थालाई सुधार गर्न पूर्वाधार नीति आवश्यक रहेको औँल्याउँदै, विपद् तथा जलवायु परिवर्तनलाई ध्यानमा राखेर नीति बनाउनुको विकल्प नभएको बताएका थिए। पूर्वाधार नीति तर्जुमा गोष्ठीमा कोशी प्रदेश सरकारका मन्त्री, सचिव तथा विज्ञहरूको उपस्थिति रहेको जानकारी दिएका छन्।




















