झापा,कालजयी उपन्यास ‘बसाइँ’ का सर्जक लीलबहादुर क्षेत्री ९२ वर्षको उमेरमा उनको निधन भएको छ। पायल्स र दम रोगले लामो समयदेखि अस्वस्थ रहेका उपन्यासकार क्षेत्रीको बिहीबार राति साढे १० बजे भारतको असम गुवाहटी नजिकै मोराखलीस्थित आफ्नै निवासमा निधन भएको छ ।

‘बसाइँ’, ‘अतृप्त’ र ‘ब्रह्मपुत्रको छेउछाउ’ उपन्यासले उनलाई नेपाली साहित्य र भारतीय नेपालीभाषीबीच कालजयी स्रष्टाको पहिचान दिएका थिए । यी कृतिमा विस्थापित हुनुपर्ने बाध्यता, नेपाली आप्रवासनको पीडा र पहिचानका विषय उनले निकै सशक्त रूपमा पस्किएका छन् ।

‘बसाइँ’ उपन्यास पूर्वी नेपालको पहाडी गाउँमा व्याप्त भोक, अभाव र थिचोमिचोको पीडाले गाउँ छाडेर बाँच्नकै लागि पर्देशिनु पर्ने नेपालीको कथा हो । विस्थापित भएर भारतको असम, मणिपुरलगायत ब्रह्मपुत्र नदी आसपासका क्षेत्रमा पुगेका हजारौं नेपालीले गर्नुपरेको संघर्षको कथालाई उनले ‘ब्रह्मपुत्रको छेउछाउ’ मा छर्लङ्ग पारेका छन् । ‘अतृप्त’ भने उनको मनोवैज्ञानिक उपन्यास छ ।


उनका ‘कहिल्यै नफुक्ने गाँठो’, ‘लीलबहादुर क्षेत्रीका कथाहरू’, ‘तीन दशक बीस अभिव्यक्ति’ लगायतका कृति पनि लोकप्रिय छन् ।विसं १९८९ मा गुवाहाटीमा जन्मिएका क्षेत्री बाल्यकालमै अभिभावकसँगै विस्थापित हुनुपरेको थियो । उनका बुबा मेघालय राज्यको सिलोङ प्रहरीमा कार्यरत थिए ।

दोस्रो विश्वयुद्धका बेला असमलगायत भारतका विभिन्न स्थानमा बमबारी सुरु भएपछि परिवार नेपाल फर्कियो । बालक लीलबहादुरसहितको परिवार पुर्ख्यौली गाउँ तेह्रथुम पुगेका थिए । त्यही एक वर्षको बसाइँमा प्रत्यक्ष अनुभूत गरेका घटनाले नै पछि गएर ‘बसाइँ’ उपन्यास जन्माइदियो । ‘बसाइँ तेह्रथुमकै त्यो गाउँको कथा हो।

लामो समयसम्म अध्यापन गरेका क्षेत्री करिब तीन दशकअघि अवकाश भएका थिए । त्यसपछिको जीवन उनले लेखन र साहित्य सेवामै समर्पित गरेका थिए।