विराटनगर ,नेकपा एमाले मोरङको १० औं जिल्ला अधिवेशन जारी भए संगै शनिबार उद्घाटन सत्रसँगै सुरु भएको अधिवेशनको बन्दसत्र लम्बिएको छ ।


सोमबार प्रतिनिधिहरूले मनोनयन दर्ता गरेका छन् । निर्वाचन कमिटीले उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन गरेको छ ।

निर्वाचन कमिटीका अनुसार उम्मेदवारको दाबी विरोधका लागि मंललबार विहान ८ बजेसम्मको समय सीमा तोकिएको छ ।

विराटनगरको होटल मनास्लुमा अधिवेशन जारी भए संगै जिल्ला कमिटीको १६५ सदस्यका लागि निर्वाचन हुँदैछ । जसमा अध्यक्ष, उपाध्यक्ष, सचिव, उपसचिव २ सहित पाँच जना पदाधिकारी निर्वाचित हुने भएका छन् ।

एमालेभित्रको संस्थापन र इतर दुवैले अध्यक्षदेखि सदस्यसम्म उम्मेदवारी दर्ता गरेका छन् । संस्थापनबाट राजकुमार ओझा र इतर समूहअन्तर्गत विनोद ढकालले नेतृत्व गरेको समूहबाट अजम्बर राईले अध्यक्षमा उम्मेदवार छन् ।

ओझाको टिमबाट उपाध्यक्षमा शान्ति लिम्बू, सचिवमा रविन थापा, उपसचिवमा इर्जालाल राजवंशी र शिल्पा निराला कार्कीले उम्मेदवारी दिएका छन् । 

त्यस्तै, ढकाल पक्षबाट अध्यक्षमा अजम्बर राई, उपाध्यक्ष सागर थापा, सचिव सोमराज थापा, उपसचिव सन्तोष वान्तवा र उषा झाले उम्मेदवारी दिएका हुन् ।