विराटनगर,उद्योग संगठन मोरङले ३ करोड रुपैयाँ खर्च गरेर माघ ११ गतेदेखि विराटनगरमा विराट एक्स्पो २०२५ को आयोजना गर्ने भएको छ । संगठनले विराटनगर महानगरपालिकाको वडा नं. १४ जतुवा स्थित डिग्री क्याम्पसको मैदानमा विराट एक्स्पोको आयोजना गर्न लागेको हो ।भने उद्योग संगठन मोरङले विराट एक्स्पो स्थल डिग्री क्याम्पसको मैदानमा सोमबार पत्रकार सम्मेलन गरेर माघ ११ गतेदेखि सुरु हुने विराट एक्स्पो माघ २० गतेसम्म सञ्चालनमा रहने उल्लेख गरेका छन्  । विराट एक्स्पोको आयोजना गर्न उपाध्यक्ष भोलेश्वर दुलाल (भोला) लाई संयोजक र कार्यकारिणी समितिका सदस्य पारस लुनियालाई सहसंयोजकको जिम्मेवारी रहेको छ । उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरानाले अन्तर्राष्ट्रिय स्तरको विराट एक्स्पोमा ९ वटा पेभिलियन अन्तर्गत २ सय ६८ वटा स्टल रहने बताएका छन् । नेपाल, भारत, पाकिस्तान र बंगलादेशका गरी विराट बजार बिटुबीका १२ स्टल, स्टार्टअप भिजन कोशी ह्याकाथुनका १२ स्टल, रोजगार कोशीका १२ स्टल, व्यावसायिक सेवा प्रदायक, सूचना, शिक्षा तथा डिजिटल प्रविधिका ४० स्टल, अटोमोबाइल्सका २० स्टल, औद्योगिक तर्फ ७५ स्टल, औद्योगिक, कर्पोरेट, कृषि, पर्यटन तथा एसएमईजका ७५ स्टल, खाद्यका १० स्टल र प्रयोजकका १२ स्टल रहने अध्यक्ष सुरानाले जानकारी दिए।

संगठनका उपाध्यक्ष एवं विराट एक्स्पोका संयोजक भोलेश्वर दुलालले २०७९ सालमा आयोजना गरिएको एक्स्पो भन्दा यस वर्ष आगन्तुकलाई थप सेवा सुविधा प्रदान गर्न लागिएको हो। संगठनले २०७९ सालमा विराटनगर बाहिरबाट एक्स्पो घुम्न आउने सर्वसाधारणका लागि निःशुल्क बस सेवा सञ्चालन गरिएको थियो।यस वर्ष पनि निःशुल्क बस सेवा सञ्चालनलाई निरन्तरता दिने संयोजक दुलालले बताए छन्। बिहान १० बजेदेखि राती ८ बजेसम्म विराट एक्स्पो सञ्चालनमा रहनेछ । बिहान १० बजेदेखि ३ः३० बजेसम्म १०० रुपैयाँ र ४ बजेदेखि राती ८ बजेसम्म २०० रुपैयाँ प्रवेश शुल्क (टिकट दर) कायमनै रहने जानकारी दिए ।साँझको समयमा सांस्कृतिक कार्यक्रम आयोजना गरिने र बाहिरबाट ल्याइने कलाकारलाई मोटो रकम तिर्नुपर्ने भएकोले ४ बजेदेखि लागु हुने गरी टिकट दरमा वृद्धि गरिएको दुलालले बताए । विराट एक्स्पो २०२५ को सम्पूर्ण आन्तरिक तयारी पुरा भइसकेको र फिल्ड निर्माणको काम सुरु भएको संयोजक दुलालले बताएका छन्  । विराट एक्स्पोको अवधिमा प्रत्येक दिन साँझ राष्ट्रिय रूपमा ख्यातिप्राप्त पूर्ण राई, लाहुरे, मंकी टेम्पल, जेम्सी, तृष्णा गुरुङ, रक हेडस, एकदेव लिम्बु, सौरभ भट्टराई, शैलेश निरौला, अस्मिता अधिकारी, मिस्टर डि, हुमन आचार्य, स्वप्न सुमनको प्रस्तुति रहने भएको छ ।