विराटनगर । चैत महिनासँगै राम नवमी र हनुमान जयन्ती नजिकिँदै गर्दा विराटनगर उत्सवमय बनेको छ। शहरका प्रमुख सडक, चोक तथा मन्दिर परिसरहरू रंगीन बत्तीले सजाइएका छन्, जसले धार्मिक वातावरणसँगै बजारमा चहलपहल बढाएको छ।

विश्व हिन्दु परिषद् नेपाल (कोशी प्रदेश) र युवा विभाग विराटनगरको समन्वयमा चैत १३ गते राम नवमीका अवसरमा बृहद् मोटरसाइकल र्‍याली आयोजना गरिने तयारी गरिएको सहदेव सहनीले जानकारी दिए।उनका  अनुसार धार्मिक झाँकी, झण्डा, बाजागाजा तथा नारासहित र्‍याली अनुशासित रूपमा सञ्चालन गरिनेछ। कार्यक्रमलाई “श्रीराम प्रमाण प्रतिष्ठान”को रूपमा विशेष महत्व दिइएको जनाए।

यसैबीच, चैत १९ गते हनुमान जयन्तीका अवसरमा रथसहितको भव्य शोभायात्रा निकालिने तयारी भइरहेको छ। विभिन्न धार्मिक संघसंस्था, स्थानीय समूह तथा सर्वसाधारणको सहभागितामा कार्यक्रम सम्पन्न गरिने अपेक्षा गरिएको छ, जसले सामाजिक एकता र सांस्कृतिक पहिचान सुदृढ बनाउने विश्वास गरिएको छ।