मोरङ । मोरङका स्रष्टा राज लम्साल ‘यात्री’ को गजलसङ्ग्रह ‘यात्री’ प्रकाशित भएको छ । नेपाल पर्यटन बोर्ड, भृकुटी मण्डपमा आयोजित एक विशेष समारोहका बिच हालसालै उक्त कृतिको लोकार्पण गरिएको हो ।

वरिष्ठ साहित्यका ज्ञानुवाकर पौडेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रा.डा. शैलेन्दु प्रकाश नेपाल, अग्रज स्रष्टा कलानिधि दाहाल, गजलकार जे. सागर, गायक राज सिग्देल, साहित्यकार डा. निरज भट्टराई , गजलकार रूपक वनवासी, सङ्गीता थापा, हामी र हाम्रो कृति समाजका अध्यक्ष मदन नेपाल, सगरमाथा साहित्य प्रतिष्ठान नेपाल शाखाका पदाधिकारीलगायत विभिन्न साहित्यिक संस्थाका प्रमुख तथा प्रतिनिधिहरू तथा स्रष्टाहरूको बाक्लो उपस्थिति रहेको थियो ।

कार्यक्रममा साहित्यकार छवि वैरागी घिमिरेले लेखकको व्यक्तित्व र गजलकार जे. सागरले कृतित्वमाथिको समीक्षा प्रस्तुत गरेका थिए । 

कार्यक्रममा प्रस्तोता बाबु त्रिपाठी र लेखकबिच गजलको रचना गर्भबारे अन्तरक्रिया पनि भएको थियो । 

कार्यक्रमको दोस्रो चरणमा गजलगायक राज सागरले विमोचित गजलसङ्ग्रह ‘यात्री’ भित्रका चार र सङ्ग्रहबाहिरको एक गरी पाँचओटा गजल प्रस्तुत गरेका थिए । उक्त साङ्गीतिक प्रस्तुतिमा तबलामा अनन्त प्रजापती, भायोलिनमा यतिराज अधिकारी, सितारमा अनिल धिताल, बाँसुरीमा रोहित भाट र गिटारमा सञ्जीव गौतमले साथ दिएका दिएका थिए ।

साहित्य पोस्टका प्रधान सम्पादक अश्विनी कोइरालाको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन भने बाबु त्रिपाठीको रहेको थियो । 

सुन्दरहरैँचा, मोरङ निवासी यात्री गीत र गजल विधामा लामो समयदेखि कलम चलाउँदै आएका स्रष्टा हुन् । साहित्य पोस्ट, कोसी साहित्य–कला परिषद् नेपाल, सगरमाथा साहित्य प्रतिष्ठानलगायतका साहित्यिक संस्थामा आबद्ध रहँदै आएका छन् ।

Messenger_creation_CF91E43C-B566-4DC6-B340-8FE7CC7052B6