सबै राम्रै छ!
सबै ठिकै छ!
हिजो झैँ बिहान उज्यालोसगँ मुस्कुराउँदै बिउँझिएकै छ!
साँझ पनि उस्तै गरी अँध्यारो ओढेर अस्ताएकै छ!
हावा उस्तै चलेकै छ,
आकाश उस्तै फैलिएकै छ
तर मनभित्र कतै केही चुपचाप हराए झैँ लाग्छ!
ए अँ! सबै ठिकै छ…!
बुवा विलीन हुनुभयो,
घरको त्यो ठूलो छायाँ
एकाएक आकाशबाट खसे जस्तै भयो।
जसको काँधमा टेकेर
जीवन हिँड्न सिकेका थियौँ,
आज त्यही काँध
समयले हामीबाट टाढा लग्यो।
बेठिक भनेको यति मात्र हो…
बाँकी सबै राम्रै छ!
बाँकी सबै ठिकै छ!
आमाको उमङ्गको रङ्ग पखालियो,
अनुहारको उज्यालो हरायो,
हाँसो अझै छ
तर,हृदयको आवाज टुटेको छ।
आँखाहरु अझै उस्तै छन्
तर, भित्रभित्रै आँसु थामेर बस्नु भएको छ!
बेठिक भनेको यति मात्र हो…
बाँकी सबै राम्रै छ!
बाँकी सबै ठिकै छ!
हामी संरक्षकरहित भयौँ,
मानौँ आकाशको छानो
अचानक हराए जस्तो…
मानौं शिर बिनाको शरीर
ठिङ्ग उभिए जस्तो…
मानौँ आँधी आए जस्तो…
र हामीलाई एक्लै बाटोमा छोडेर गए जस्तो…
बेठिक भनेको यति मात्र हो…
बाँकी सबै राम्रै छ!
बाँकी सबै ठिकै छ!
घर शून्य भएको भान भएको छ
आँगन उही,ढोकाहरु उही, भित्ताहरू उही,
तर, आवाजहरू हराएको महसुस भएको छ
जहाँ हिजो हाम्रो संरक्षकको स्वर गुञ्जन्थ्यो
आज त्यहाँ मौनताले घेरेको आभास भएको छ!
बेठिक भनेको यति मात्र हो…
बाँकी त सबै राम्रै छ!
बाँकी त सबै ठिकै छ!
सबै सपनाहरु तुहिए जस्तो…
हिजो सँगै देखिएका उज्याला बाटाहरू
आज कुहिरोले ढाके जस्तो…
आशाका ती साना दीपहरू
एक–एक गर्दै निभे जस्तो…
तर पनि,
जीवन रोक्न सकिएको छैन
समय उस्तै बगिरहेको छ
सुर्यले आफ्नो परिक्रमा रोकेको छैन
फूलहरु उस्तै फुलिरहेका छन्
दिनहरू उस्तै फेरिइरहेका छन्!
त्यसैले कहिलेकाहीँ
म आफुलाई सम्झाउँदै भन्छुः
‘भवानी’
सबै राम्रै छ!
सबै ठिकै छ!
बेठिक भनेको त यति मात्र हो
बुवा बित्नुभयो,
आमा बिधुवा हुनुभयो,
हामी टुहुरा भयौँ,
घर शून्य भयो,
सबै सपना तुहिए…
बेठिक भनेको यति मात्र हो…
बाँकी त सबै राम्रै छ!
बाँकी त सबै ठिकै छ!
श्री भवानी नेपाल
ईटहरी-१२ खनार
हालः युएई दुबई




















