हातमा बोकेर बुके

केही बेरमै ओइलाई जाने

गुलाबको फूल किन नि?

बोकी आउनु पर्छ सधैं भने

मनमा भरोसाको बगैँचा लिएर आउनू, 


ता कि, 

म त्यही भरोसाको स्थायी वासना, 

अत्तर सरी छर्केर- मुटुका पत्रपत्रमा

जिन्दगीभर मुस्काउन सकूँ, 

किसिमकिसिमका चकलेट होइन, 

उर्जाको तरेली लिएर आउनू

त्यही उर्जाका तरेलीमा 

आँखाका परेली उचालियून्

र जिन्दगी

हिउँको पारिलो घामजस्तो होस्।


प्रेम दिवस त मेरो निम्ती त्यही दिन हो, 

जुन दिन तिमी र म भेट भएको थियौ, 

त्यो भेट! ! 

जुन न तिमीले चाहेर भएथ्यो, 

न मैले चाहेर भएथ्यो, 

लाग्छ! सायद परमात्माले चाहेथ्यो,  


प्रेम! 

न तिमीले प्रस्ताव गर्यौ, न मैले ग्रहण गरे, 

न तिमीले सोध्यौ प्रेम गर्न हुन्छ कि हुन्न? भनेर, 

न मैले सोचे प्रेम लिन हुन्छ कि हुन्न भनेर... 

जे हुन्छ राम्रैका लागि हुन्छ भने जस्तै 

जे भयो आफै भयो...  

गरिएन कुनै

स्वीकार र अस्वीका

लेखिएन कुनै

गनगन र घुर्कीका कुनै प्याराग्राफ। 


संसारले प्रेम दिवस मनाउदै गर्दा, 

बरु आऊ 

ओइलाउन नदिने प्रेमको आयाम थपौं, 

धमिलिन नदिन प्रेमका रङ्गहरू

विश्वासको इन्द्रेणी भरौं, 

हो प्यारा, 

प्रेमको एउटा दस्तावेज तयार गरौ, 

त्यसका दफा दफामा

सँगै छलफल गरौं 

अनि साझा सङ्कल्प प्रस्ताव

पारित गरौं।


म भरिन चाहन्छु तिम्रो प्रेमले, 

ताकी थोरै पनि म खाली नहोऊँ, 

लठ्ठिन चाहन्छु म

तिम्रो प्रेमको साधनामा

यसरी कि 

होस आउनै नपरोस्

प्रेमको त्यही रमरममै

दिन सुरु होस् र अन्त्य होस्


हो प्रिय!

कहिल्यै नरित्तियोस प्रेमको पोखरी

जहाँ तिमी र नुहाइरहेका होऊँ, 

अनि तिमी र म बस्ने नगरीमा 

प्रेमको कर्फ्यु कहिल्यै नलागोस् 


आउ!  यो प्रेम दिवसमा

कहिल्यै नखुस्किने गरी

बाँधौं साथको गाँठो

मनमा मन यसरी मिलोस्

जसरी मिल्छन्

सङ्गममा नदीहरू


प्रिय!

अङ्गालोभरी

बोकी आउनू

नओइलिने

विश्वासका फूलहरू ।

मीना श्रेष्ठ 

इटहरी