बादल जस्तो गर्जिन्छ कहिले 

कहिले चट्याङ भएर चम्किन्छ

बग्छ कहिले सङ्लो पानी झैँ

 अनि नम्र बनेर ऊ

मनको आकाशमा उड्छ 

कहिले माटोमा बस्छ थचक्क 

अदृश्य मनको सारथी

ऊ मेरो ।


मौनतामा सधैँ आउँछ ऊ मेरो

मौनताको अभिन्न अङ्ग बनेर

गर्छ शब्द संयोजन

भर्छ ऊ आफैँ सङ्गीत 

 अनि म सँगै गाउँछ।

मनको मेरो कारागारभित्र 

सपनाको संसारमा

मुटुको धड्कनसँगै चलिरहन्छ 

अदृश्य बनेर ऊ ।


म हाँस्दा हाँस्छ, रुँदा रुन्छ ऊ

 यात्रामा सँगै छ मसित सधैँ

धुलोमा मिसिन्छ, पानीले भिज्छ

अटल र अडिग छ ऊ ।

गर्छ घमण्ड ऊ हुनुको,

फिजाउँछ स्वतन्त्रताका पखेटा

निश्चल-निर्भीक उड्छ

स्वाभिमानमा मुछिएको छ ऊ

सुटुक्क फर्केर आउँछ ममा

अनि साथ दिइरहन्छ निरन्तर 

थाक्दैन कहिल्यै ऊ ।

 

ऊ जीवन हो मेरो,

हुँदै हो  श्वास प्रश्वास त !

ऊ अर्ती हो, उपदेश हो ऊ

ऊ सारथी पनि हो तर अन्तर्मनको,

ऊ औषधि ! बाँच्ने आधार मेरो ।


मेरो मनको  कारागारभित्र

बन्धक बनेर 

परिणत हुन नसकेका विपनामा

रुमलिइरहेको

मात्र एउटा सपना हो ऊ !


जब तन्द्रामा आँखा चिम्म गर्छु

मसँगै उड्छ उडानमा

गर्छ कल्पना योजनाको

कल्पनामा तर्छ पारी 

आँखा खोल्छ अनि

यथार्थको वर्षाले भिज्छ निथ्रुक्क 

पखालिन्छन् सबै योजनाहरू

छपक्क मिल्छन् माटोसँगै 

लामो श्वाष तानेर खुइय गर्छ ऊ,

अनि लाग्छ ऊ

आफ्नो दैनन्दिनीमा 

मिसिन्छ ऊ सधैँ झैँ 

म मा

ऊ मेरो सपनाको

मौन सारथी बनेर ।

- गीताश्री शर्मा 


                                     गान्तोक, सिक्किम